रोकिएको सिटी हलको निर्माण कार्य सुरु

चितवन ।
चितवनको भरतपुरमा निर्माणाधिन सिटी हलको छतको डिजाइन परिवर्तनले रोकिएको निर्माण कार्य सुरु भएको छ ।
छत छाउने क्रममा समस्या आएपछि छतको मात्र डिजाइन परिमार्जन गर्न समय लागेको थियो । परिमार्जित छतको डिजाइन स्वीकृत भएर काम पुन सञ्चालन भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख वरिष्ठ डिभिजनरल इञ्जिनियर झपटबहादुर थापाले जानकारी दिनुभयो ।
२७ महिनामा सम्पन्न गर्नु पर्ने भएपनि विभिन्न कारणले निर्माण कार्यमा ढिलाइ हुदै आएको थियो । निर्माणको क्रममा रहेको हलको छाना छाउने क्रममा फलामको फाइप ढलेर समस्या आएको थियो ।
ट्रष्ट लगाउने क्रममा हावाले झारेपछि पुनःअध्ययन थालिएको थियो । आठ महिनाअघि पाँच वटा ट्रष्ट राखेपछि एउटा ट्रष्ट हावाले झारेको थियो । विस्तृत अध्ययन गरेर नयाँ डिजाइन स्वीकृत भएपछि निर्माण थालिएको हो । निर्माणको कामलाई निरन्तरता दिएका छौ प्रमुख थापाले भन्नुभयो “ट्रष्ट निर्माणको काम सुरु गरेका छौ, यो कार्य सकेपछि फिनिसिङको कार्य थाल्नेछौ ।” छाना छाएपछि अन्य संरचना निर्माणले समेत गति पाउने छ । रु एक अर्ब २० करोड लागत अनुमानमा निर्माण सुरु गरिएको हल निर्माणका लागि इण्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो ।
बाइपास सडकसँगै जिल्ला समन्वय समितिका नाममा रहेको चार बिघा चार कट्ठा जमिन भरतपुर महानगरपालिकाका नाममा लगेर सिटिहल निर्माण थालिएको हो । निर्माणका क्रममा रहेको हलमा अहिले भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लाष्टर, प्लम्बिङलगायत काम भइरहेको प्रमुख थापाले जानकारी दिनुभयो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । यसका साथै तीन सय मानिस अट्न सक्ने क्षमताको सभा हल रहनेछ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुई वटा भ¥याङ र दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, प्रशिक्षण कक्ष पनि रहनेछन् । मुख्य ब्लक छ हजार पाँच सय वर्गमिटरमा हुनेछ ।
सिटी हलको अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै विसं २०७७ मङ्सिर १८ गते सभागृह निर्माण थालिएको थियो । २७ महिना अर्थात् विसं २०७९ फागुन १८ गते निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको थियो ।

शेयर गरौ

ताजा अपडेट