शालिग्राम नेपाल ।
चितवन । चार वर्ष लगाएर भरतपुरमा छ लेनको छ किलोमिटर सडक निर्माण पूरा भएको छ ।
२०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोदेखि पूर्वतर्फ गोन्द्राङसम्मको यो सडक एसियन मापदण्डमा निर्माण पूरा भएको हो । निर्माण सकिएपछि अहिले सुन्दर देखिएको छ । पश्चिम नेपालबाट नारायणी नदी तरेपछि र पूर्वी क्षेत्रबाट टिकौली जङगल कटेपछि छ लेनको सुन्दर सडक प्रवेश गर्दछ ।
सडक विस्तारका क्रममा विभिन्न झन्झट पाएको सगुन कन्स्ट्रक्सन प्रालिले दुइ वर्ष चार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समय सिमा निर्धारण गरिएको थियो । म्याद थप गर्दै चार वर्ष लगाएर गत पुसमा काम सम्पन्न गरेको छ । सडकलाई थप सौन्दर्यता दिने काम भरतपुर महानगरपालिकाले गर्दै आएको छ ।
निर्माणको ठेक्का पाएको सगुन कन्स्ट्रक्सनका प्रतिनिधि नकुल खड्काले विस्तारको काम गर्दा धेरै अवरोध आएपनि सम्पन्न गर्न सकेको बताउनुभयो । कोभिड महामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको जानकारी दिनुभयो ।
एक अर्ब १२ करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी सडक विस्तारको सम्झौता भएको थियो । पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो । पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १÷१ सर्भिस लेन तयार पारिएको छ । सडक विस्तारसँगै दुवैतर्फ छ सय सडक बत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा विकसित देशको अनुभूति दिने गर्दछ । भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको स्लोप घटाइएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटनाको जोखिम समेत कम भएको निर्माण कम्पनीको दाबी छ ।
५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र भूमिगत बिजुलीको तार गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी ंलायन्सचोकको खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ढल तयार गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
निर्माण सकिएपनि पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम ठेकेदारले नै गर्नु पर्ने सम्झौतामा रहेको प्रतिनिधि खड्काले जानकारी दिनुभयो । सडकको कालोपत्रे अन्तर्राष्ट्रिय गुणस्तरको गरिएको निर्माण कम्पनीले बताएको छ । १० एमएमको डीबीएम, ४ एमएमको अस्पाल्ट गरिएको छ ।
सडकको दायाँबायाँ ११.५÷११.५ मिटर कालोपत्रे गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दुबो लगाउने र आर्कषक फूलहरूका बिरुवा रोप्ने काम भएको छ । बजार क्षेत्रमा भने दुबो लगाउने र बिरुवा रोप्ने काम अझै बाँकी छ ।
बीचको मेडियन र सर्भिस लेनको डिजाइन विभिन्न ठाँउमा फरक–फरक रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताउनुभयो । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका कामले सडक आर्कषक देखिएको छ । सौन्दर्य करणको काम भने अहिलेपनि जारी रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । फुटपाथमा गाडी राख्ने, धुने जस्ता कामले यात्रुलाई असहज भएको देखिन्छ ।
सडक विस्तार गरे पनि लेन अनुसारको सवारी चलाउने काम अझै भएको छैन । स्थानीय रुटमा चल्ने सवारीलाई सर्भिस लेनबाट चलाउनुपर्नेमा मुख्य सडक क्षेत्रमा नै अटो म्याजिक तथा स्थानीय रुटका सवारीहरू गुडिरहेका छन् ।
एसियन मापदण्ड अनुसार विशेष गरी सहरी क्षेत्रमा बीच सडकको ५० मिटरबाहेक दायाँबायाँ २ लेनको सर्भिस सडक बन्छ । बीचको ४ लेन द्रुत मार्गको हुनेछ । बीचको सडक द्रुत मार्ग भएका कारण सहरी क्षेत्रमा दायाँबायाँ २ लेन सर्भिस रोड निर्माण हुन्छ । एडीबी आयोजना निर्देशनालयका अनुसार यस बाहेक फुटपाथ र ड्रेनसमेत बन्नेछ ।
२०७७ माघ १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गर्नु भएको थियो । सोही दिन उहाले भरतपुरमा दुइ हजार क्षमता भएको सिटी हल निर्माणको शिलान्यास गर्नु भएको थियो । तर हल निर्माण अझै भएको छैन । प्रधानमन्त्री ओलीबाट नै छ लेन सडकको उद्घाटन गर्ने तयारी रहेको भएपनि मिति भने तोएिको छैन ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले छ लेन सडक निर्माण पूरा भएपछि भरतपुरको सौन्दर्यतामा धेरै विकास भएको बताउनुभयो । विस्तारको निर्माण कार्य पूरा भएपछि यात्रामा सहजता संगै यहाँको विकास देखिएको उहाले बताउनुभयो । छ लेल सडक निर्माणमा धेरै पहल गरेकै कारण अहिले यो सम्भव भएको भरतपुर महानरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । छ लेन सडक, वाइसाप सडक, स्मार्ट बत्ती निर्माणमा महानगरको योगदान रहेको छ उहाले भन्नुभयो यसलाई हामीले गौरवको योजना भन्ने गरेका छौ ।
