चितवन । स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले आफ्नो १३ औं दीक्षान्त समारोह आज भव्य कार्यक्रम गरेर मनाउँदैेछ । सिएमटी होटेल भरतपुर १० हाकिमचोकमा विशेष कार्यक्रमसहित दीक्षान्त समारोह गर्ने तयारी गरिरहेको एकेडेमीले जनाएको छ। वि.सं।.२०६५ सालमा पोखरामा स्थापना भएको प्रतिष्ठित शैक्षिक संस्थाको भरतपुर शाखा २०६७ सालदेखि भरतपुर ११ मालपोत चोकमा संचालनमा रहेको छ। हाल यस संस्थाले भरतपुर १२, थानी चोकमा एभरेस्ट प्रिस्कुल र बास्तोलाथर, पोखरामा प्राग्मा मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ।
दीक्षान्त समारोहको प्रमुख आकर्षणका रूपमा चर्चित नायिका करिश्मा मानन्धर, लोक तथा दोहोरी गायिका राधिका हमाल तथा लोकप्रिय सञ्चारकर्मी महिमा पण्डित भट्टराई रहनेछन्। नायिका करिश्मा मानन्धर एक असल आमा हुनुका साथै शिक्षाको महत्त्व बुझी ४४ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भई हाल स्नातक अध्ययन गर्दै हुनुहुन्छ। उहाँ नानीबाबुका लागि शिक्षाको महत्त्वको प्रेरणादायी पात्र बन्न सक्ने एकेडेमिले जनाएको छ ।
हाल यू।के।जी। कक्षामा अध्ययनरत ५७ जना विद्यार्थीहरू दीक्षित भई उच्च शिक्षाका लागि अन्य विद्यालय जानेछन् भने नर्सरी कक्षाका ७० जना विद्यार्थीहरू दिक्षित भई एल.के.जी.मा जानेछन्। त्यस्तै, एल.के.जी.का ६५ जना विद्यार्थीहरू दिक्षित भई यू.के.जी. कक्षामा जानेछन्।
विशेष कार्यक्रम तथा झाँकी प्रदर्शन समारोहको प्रारम्भ स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर ११, मालपोत चोकबाट र्यालीको साथमा गरिनेछ। पञ्चेबाजा सहितको र्यालीमा करिश्मा मानन्धरलाई घोडाको बग्गीमा तथा यू.के.जी. कक्षा ग्राजुएट हुने विद्यार्थीलाई बिशेष जीपमा राखेर सीएमटी होटलसम्म लैजाने एकेडेमीले जनाएको छ ।
स्टार्स मोंटेश्वरीले प्रत्येक वर्ष भव्य कार्यक्रम गर्दै आएको छ। यसअघि महानायक राजेश हमाल, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, सन्तोष पन्त, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, समाजसेवी गिभिना मगर लगायतका चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेको छ । स्टार्स मन्टेश्वरीले चलेको प्रवृत्ति भन्दा केही भिन्न कार्यक्रम ल्याउने सोच बनाउँदै आएको स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश राना मगरले जानकारी दिनुभयो ।
दीक्षान्त समारोहलाई थप मनोरञ्जनात्मक बनाउन यू.के.जी.कक्षाका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य, तेक्वान्दो तथा सङ्गीतिक प्रस्तुति गरिनेछ। साथै, लोकप्रिय गायिका राधिका हमालको विशेष सांगीतिक प्रस्तुति रहने मगरले बताउनुभयो । गुणस्तरीय शिक्षाको उत्कृष्ट नमूना स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुर उच्चस्तरीय शिक्षा, अनुशासन, नृत्य, संगीत र तेक्वान्दो लगायतका सर्वाङ्गिण प्रतिभा विकासका कार्यक्रमहरू प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा विकास हुँदै गइरहेको छ । मन्टेश्वरी शिक्षा महँगो हुन्छ भन्ने सोचाइलाई चिर्दै, एकदमै न्यूनतम शुल्कमा पनि गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको यस विद्यालयलाई सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा दिने सर्वश्रेष्ठ मन्टेश्वरी विद्यालयका रूपमा हेर्ने गरिएको छ ।
निर्देशक रानाका अनुसार, विद्यालयले धेरै न्यून शुल्कमा नै विद्यार्थीहरूको खुसीका लागि भव्य दीक्षान्त समारोह आयोजना गर्दै आएको छ। हाम्रा सबै विद्यार्थीहरू प्रतिभाशाली छन्, जसले शिक्षासँगै संगीत, नृत्य र तेक्वान्दोमा पनि उत्कृष्टता हासिल गरिरहेका छन्,उहाँले भन्नुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको व्यापक सहभागिता रहने उहाँको भनाई छ ।