चितवन । पूर्वी चितवनको सौराहा नजिकमा प्राविधिक कलेज निर्माण हुने भएको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको बछौली माविमा प्राविधिक कलेज निर्माण गर्न भवन निर्माण शिलान्यास गरिएको हो । १२ कोठा रहने तीनतले भवनको भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले भवन निर्माणका लागि भारत सरकारले तीन करोड सहयोग गरेको जानकारी दिनुभयो । भारत नेपालको साझेदारीमा हुने भवन निर्माणले शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारत सरकारले सामुदायिक विकास परियोजना (एचआइसिडिपिएस)अन्तर्गत स्कुल, कलेज, अस्पताल, स्वास्थ्यचौकी, पुस्तकालय, नदी तटबन्ध, एम्बुलेन्स, स्कुल बसजस्ता सहयोग परियोजनाहरु उपहारस्वरुप प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले बछौली माविको भौतिक संरचनाको आवश्यकतालाई महावाणिज्य दूतावासको सहयोगले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारले लगानी गरे पनि प्रतिफल आइनसकेको उहाँले भन्नुभयो । रत्ननगर नगरपालिकाले नगरभित्र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरिसकेको बताउनुभयो । बछौली माविमा प्राविधिक शिक्षासमेत सुरू गरेको छ । नयाँ भवन निर्माणबाट शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुग्दछ सापकोटाले भन्नुभयो । आगामी दिनमा महावाणिज्य दूतावाससँग सहकार्य गर्दै अगाडि जान तयार रहेको बताउनुभयो ।
तीनतले भवन, मञ्च, सरस्वती मन्दिर र शौचालय गरी चारवटा संरचना निर्माणको लागि माँ भवानी ए.एल.एजे जय शम्भु जेभीसँग २०८३ साउन २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत फागुन २५ गते भ्याटसहित तीन करोड ४९ लाख ३१ हजार ६८० रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको रत्ननगर नगरपालिकाका प्राविधिक शाखा प्रमुख निमित्त डिभिजन इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । भवन निर्माणको लागि ८० प्रतिशत भारत सरकारको र २० प्रतिशत रत्ननगर नगरपालिकाको लगानी रहने छ ।
भवन निर्माणका लागि नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको तीन करोड ५० लाख रुपैयाँ, रत्ननगर नगरपालिकाको ४० लाख रुपैयाँ र बछौली माविको ३० लाख रुपैयाँको लागत साझेदारी रहने प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
सन् २००३ देखि भारत सरकारले नेपालका ५६३ बढी परियोजनामा सहकार्य गर्दै आएको छ । जसमध्ये ४९५ वटा परियोजना सम्पन्न भइसकेका छन् । बागमती प्रदेशमा १०८ परियोजनामध्ये चितवनका १० वटा छन् । सन् १९६२ मा स्थापना भएको बछौली माविमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । यहाँ ६५० जना विद्यार्थी अध्ययनरत छन् ।