चितवन । उद्योगको स्थायी विकास विना नेपालले आर्थिक उपलब्धी हासिल गर्न नसक्ने अर्थ विज्ञहरुले धारणा राख्नु भएको छ ।
चितवनको भरतपुरमा जारी औद्योगिक प्रदर्शनीको क्रममा भएको औद्योगिक विकास सम्बन्धी अन्तरसंवाद कार्यक्रममा विज्ञहरुले सरकारी तहबाटै उद्योगको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा.विश्व पौडेलले नेपालमा नै पाइने कच्चा पदार्थ केन्द्रीत उद्योग स्थापना गर्नु पर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो ‘उद्योगको लागि आवश्यक कच्चा पदार्थ नेपालमा पाइन्छ, त्यस्तो उद्योग स्थापना गनू पर्दछ । यसले गर्दा लागत कम दीर्घकालिन सञ्चालन हुनेछ ।’
उद्योग धन्दा फस्टाउन सकिने गरी सरकारले वातावरण निर्माण गर्न सक्नु पर्दछ । उहाले भन्नुभयो समयमा भौतिक संरचना निर्माण हुन नसक्दा त्यसको असर आर्थिक क्षेत्रमा परेको बताउनुभयो । देशमा निर्माणाधिन आयोजनाहरु समयमा सम्पन्न हुन सकेको छैन, त्यसले उद्योग धन्दा र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव परेको छ । छिटो सम्पन्न हुने गरी सरकारले कार्यक्रम ल्याउन सक्नु पर्दछ ।
बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले प्रदेशको आर्थिक विकासको लागि अध्ययन अनुसन्धान गरेर मात्र अगाडि वढ्नु पर्ने बताउनुभयो । उहाले दीर्घकालिन योजना विना गरिएको आर्थिक क्षेत्रको लगानीले प्रतिफल दिन नसक्ने उहाकाँे भनाइ थियो । वागमती प्रदेश आर्थिक हिसावले महत्वपूर्ण क्षेत्र भएपनि यहाँको उद्योग विकासमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो ।
नेपाल सरकारका पूर्व सचिव एवं माइक्रो इन्टरप्राइजेज विज्ञ, डा. मानबहादुर बिकेले औद्योगिक विकासमा सरकार उदाशिन भएको बताउनुभयो । उहाले उद्योग स्थापनालाई निरन्तरता दिदै नीतिगत व्यवस्था प्रष्ट पाउनु पर्नेमा जोड दिनुभयो । उद्योगमा विदेशी लगानी भित्राउने वातावरण निर्माण गर्न सरकारसंग माग गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना महाशाखा प्रमुख हुमकला पाण्डेले साना उद्यमीलाई बजार प्रवद्र्धन गर्न सक्नु पर्ने बताउनुभयो । त्यस्ता उद्योगीको विकासमा राज्यले प्रष्ट नीति ल्याउनु पर्दछ । देशका हरेक स्थानमा साना तथा घरेलु उद्योग सञ्चालनमा छन् । ती उद्योगले उत्पादन गरेका वस्तुको बजारिकरण, उद्योगको संरक्षणमा प्रभावकारी भूमिका सरकारको भएमा मात्र आर्थिक विकास सम्भव छ प्रमुख पाण्डेले भन्नुभयो ।
चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले उद्योगी उत्साहितको सट्टा निरुत्साहित हुँदै जाने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले सरकारले आन्तरिक तथा बाह्य लगानी बढाउन र व्यावसायिक वातावरण बनाउनु पर्ने बताउनुभयो ।