ट्राफिक शिक्षक अभियान बागमती प्रदेशभरी

 

चितवन । ट्राफिक शिक्षक अभियान बागमती प्रदेशभर लागु हुने भएको छ ।
विद्यार्थीलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवलने अभियान सुरु गरेको थियो अहिले प्रदेशभरी नै लागु गर्ने भएको हो । माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका अध्ययापन गर्दै आउनु भएका शिक्षकलाई ट्राफिक प्रहरीले तालिम दिदै आएको छ । तालिम लिएका शिक्षकले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्ने हुन्छ ।
चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका पाँच सय आठ जना शिक्षकलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका सात वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्यूनीकरणमा देखिएका समस्या, चुनौती र जबाफदेहिताको क्षेत्रबारे शिक्षकलाई प्रशिक्षण दिइन्छ । चितवनबाट सुरु भएको अभियान प्रभावकारी भएकाले प्रदेशभरी लागु गर्दै लैजाने उहाले बताउनुभयो ।
प्रशिक्षणको आधारमा शिक्षकले विद्यार्थीलाई ट्राफिक नियम पालना गर्ने र दुर्घटनाबाट जोगिनेबारे कक्षा कोठामा सिकाउनुहुन्छ । सडक नियमबारे विद्यार्थीलाई पढाउन पाठ्य सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
ट्राफिक नियम ‘जीवन मरणको नियम’ भएको हुनाले शिक्षकले कक्षाकोठामा सो नियम सिकाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक गायत्रीराज शर्माले बताउनुभयो । सवारी नियमको ज्ञान विद्यार्थीसम्म लैजाने उद्देश्यले यो अभियान सुरु गरिएको हो अहिले यसका सकरात्मक प्रभाव परेको पाइएको छ ।
विद्यार्थीलाई सडक नियम सम्बन्धी शिक्षा प्रदान गरेमा दुर्घटना न्यूनीकरण गर्न सकिने छ । दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशमा चालक प्रतिबद्धता, शारीरिक परीक्षण, यान्त्रिक परीक्षण र लापसे परीक्षण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, सडक प्रयोगकर्ताको प्रवृत्तिमा सुधार गर्नु ठुलो चुनौतीको रूपमा देखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्ग र नारायणगढ काठमाण्डौं राजमार्ग गरी ९० किलोमिटर मुख्य राजमार्ग चितवन जिल्लामा पर्दछ । जिल्लाको ग्रामिण सडकमा समेत सवारी साधानको चाप वृद्धि भएको छ । हरेक वर्ष जिल्लामा सवारी दुर्घटनाको सङख्या र मृत्युको सङख्या वृद्धि हुदै गएको छ । यसैलाई ध्यान दिएर ट्राफिक शिक्षक अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख शर्माले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट