चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बिहीबार दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । हिजो (बुधबार) न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएको थियो ।
लामिछानेविरुद्ध आज तीन जिल्ला न्यायाधिवक्ताले पनि बहस गर्ने चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् । बिहीबार रविविरुद्ध थुनछेक बहस गर्न बारा, पर्सा र धादिङबाट सरकारी वकिल पठाइएका हुन् । ‘अहिले छिमेकी जिल्लाबाट आउनु भएका जिल्ला न्यायाधिवक्ताहरू–बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट दशरथ पंगेनी सरहरू क्रमशः बहस हुने क्रम जारी छ’, उनले भने ।

यस्तै, लामिछानेका तर्फबाट एक र पीडित पक्षबाट तीन जनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछाने पक्षबाट एक जनाले बहस गरेका थिए । त्यसपछि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको थियो । गएको मंगलबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा चितवन अदालतमा मुद्दा दायर भएको थियो । थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति कारागार चलानमध्ये एक आदेश गर्नेछ । चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए ।
चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ । यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ । उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ । अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ ।