चितवन समाचार डटकम, २४ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता एवम् पूर्व मन्त्री बिक्रम पाण्डेले सरकारी कर्मचारी देखी मन्त्री सम्मको सेटिङमा भ्रष्टचार हुने गरेको आरोप लगाउनुभएको छ ।
दुई पटक मन्त्री पदको जिम्वेवारी सम्हाली सक्नुभएका नेता पाण्डेले आज भरतपुरमा आयोजीत कार्यक्रममा भ्रष्टचारमा खरदार देखी मन्त्री सम्मको च्यानल हुने दावी गर्नुभयो । ‘खरदारले सुब्बालाई, सुब्बाले अफिसरलाई, अफिसरले सचिवलाई र सचिवले मन्त्रीलाई भाग पुर्याउनुपर्छ, कसरी रोकिन्छ भ्रष्टचार ?’ पाण्डेले भन्नुभयो । सिक्टा परियोजनाको भ्रष्टचार प्रकरणमा आफुलाई फसाउन खोजिएको समेत पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो ,‘काम सकेर छोडिसकेको सन्दर्भमा एउटा कुलो जस्तो भत्केको रहेछ, त्यसैलाई निहुँ बनाएर गैरकानुनी रुपमा मलाई फसाउन खोजियो ।’
विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ गते कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको थियो ।
