रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको आरोप लागेका पूर्व गृहमन्त्री लामिछाने रूपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार लामिछानेले एक करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि एक करोड धरौटीमा छोड्ने आदेश आएको हो । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।
थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।