ताप्लेजुङ । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिएका थिए ।
पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट थालिएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए । त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।

डीएसपी रावलले पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।