चितवन । चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो ।भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसिएसनले जनाएको छ । विगतमा फूलको मालाको मूल्य फरक–फरक भएकाले यस पटक एक सय रुपैयाँ निर्धारण गरिएको एशोसिएसनको भनाइ छ ।
एशोसिएसनले निर्धारण भएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न फूल खेती गर्ने किसान र बिक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० रुपैयाँ कायम गरिएको किसानले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य कम रहने गरेको छ । यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा किसानलाई प्रोत्साहन गर्न महानगरले आग्रह पनि गरेको छ । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा ३ लाख गोटा सयपत्री माला हुने फूल खेती भएको तथ्याङ्क एशोसिएसनले सार्वजनिक गरेको छ ।
यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी फूल भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।