काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ४२०.५३ प्रतिशत वृद्धि भएको देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा बैंकको नाफा बढेर ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा झरेको छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ रहेको छ । ३ खर्ब ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २५ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ ।