चितवन, । वैसठ्ठी जनाको ज्यान जानेगरी पहिरोले बस सोहोरेकोे स्थान चितवनको सिमलतालमा मर्मत सुरु भएको छ ।
ग्रामिण सडक निर्माणको क्रममा फोहोर झारेर अड्किएपछि वर्षा हुदा एकै पटक झरेर दुइवटा बसलाई पहिरोले बगाएको स्थानमा मर्मत सुरु भएको हो । नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल माथि पहाडमा पहिरो रोक्नको लागि पर्खाल निर्माण कार्य भइराखेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले भदौको अन्तिम हप्ताबाट चेक पर्खाल निर्माण कार्य भइराखेको जानकारी दिनुभयो ।
सिमलतालको पुल मुनी जम्मा भएको फोहोर र ग्याग्रेन सफा गरिएको छ । सडकबाट चार सय मिटर माथि पहाडमा पहिरो रोक्ने पर्खाल निर्माण गरिदै आएको इन्जिनियर कार्कीले बताउनुभयो । ग्रामिण सडक निर्माण गर्दा पहाड खनेर त्यहाँ निस्केको माटो फोहोर सिदै तल फाल्दा अड्केर वसेको थियो । जसको कारण एकै पटक मुख्य राजमार्गमा खस्न पुगेको उहाले बताउनुभयो ।
गत असार २२ गते काठमाण्डौबाट गौर जादै गरेको र वीरगञ्जबाट काठमाण्डौ जादै गरेको दुइवटा बस बिहान ३ बजे सिमलतालको पहिरोले सोहोरेर त्रिशुली नदीमा वेपत्ता भएको थियो । वेपत्ता पछि सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठनले तत्काल गर्नु पर्ने काम सहितको सुझाव दिएको थियो । ती सुझाब मध्य एउटा पहिरो रोक्ने पर्खाल निर्माण गर्नु पर्ने, थुनिएको पुल मुनीको फोहोर सफा गनु पर्ने लगायतको रहेको थियो ।
कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन पेस गर्दै स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ नगरेको, डिजाइन बिना नै ग्रामीण सडक खनिएको, दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्र्यान बहाव) भएको, स्थानीय सडक निर्माणमा सुरक्षा अपनाउनु पर्ने जस्ता सुझाव दिएको थियो ।
वर्षात कम भएपछि थोरै खर्चमा हुने मर्मत तथा सरसफाइको काम तत्काल गरिएको कार्कीले जानकारी दिनुभयो । पर्खाल निर्माणपछि बोट विरुवा रोप्ने कार्य हुनेछ । पहिरो आउन रोक्नको लागि अहिले सानो काम हुने उहाले बताउनुभयो । विस्तृत रुपमा काम गर्नको लागि डिपिआर निर्माण गरेर ठुलो बजेटको लागतमा गर्नु पर्ने हुन्छ उहाले भन्नुभयो ।
भारी वर्षा भएको समयमा र उच्च जोखिमको अवस्थामा मुग्लिनको यात्रामा हामीले रोक लगाउने गरेका छौ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो । असोज ११, १२ रातिमा मुग्लिन नारायणगढ सडकमा सवारी साधन पूर्ण रुपमा निषेध गरिएको थियो । सो समयमा पहिरो आएपनि कुनैपनि क्षती नभएको उहाले बताउनुभयो । पानी परेको समयमा राति मुग्लिन बाटो भएर यात्रा सकेसम्म नगर्न उहाले अपिल गर्नु भएको छ ।