भरतपुर ,१३ असाेज ।
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले गत आर्थिक बर्ष २०८०/०८१ मा २ कराेड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेकाे छ ।
शनिबार भएको २९ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काले सहकारी क्षेत्रमा समस्या परेका बेला पनि सदस्यहरुकाे ईमान्दारीता र चुस्त ब्यवस्थापनका कारण मुनाफा आर्जन गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष खड्काका अनुसार यस बर्ष कुल आय १४ कराेड २० लाख र ब्यय ११ कराेड ६४ लाख भएको छ ।
११ हजार एक सय ९९ सदस्य रहेको यस सहकारी संस्थामा कुल शेयर रकम १३ कराेड रहेकाे छ भने जगेडा काेषमा ९ कराेड ७० लाख राखिएको छ ।
कुल निक्षेप १ अर्ब २ कराेड ७२ लाख रहेकोमा ९६ कराेड ६६ लाख ऋण लगानी छ ।
देशकाे विद्यमान आर्थिक परिस्थितिका कारण ऋण लगानी थप बढाउन असहज भएको अध्यक्ष खड्काकाे भनाई छ ।
“हामी प्रचलित ऐन नियमलाई ईमान्दारीतापूर्वक पालना गर्दै सहकारी सञ्चालन हुनुपर्ने कुरामा बिश्वास राख्छाैं,
सदस्यकाे बचतकाे सुरक्षा हाम्राे मुख्य दायित्व हाे ।”- अध्यक्ष खड्काले भन्नुभयो ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले हाम्रो चित्रवन साकोसले सहकारीको मर्मअनुसार उदाहरणीय रुपमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले सहकारीहरुले आफ्ना सदस्यलाई उत्पादनमूलक काममा जोड्दै त्यसको बजारीकरणमासमेत सघाउन आवश्यक भएको धारणा राख्नुभयो ।
अध्यक्ष खड्काको सभापतित्वमा भएको साधारणसभामा सहकारीका पूर्व अध्यक्ष एवम् भरतपुर-७का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, सहकारीका पूर्व अध्यक्ष एवम् वागमती प्रदेश सहकारी संघका सञ्चालक रामराज पौडेल, सहकारीका उपाध्यक्ष अनिलराज पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस अवसरमा सहकारीका कोषाध्यक्ष नारायणप्रसाद उपाध्यायले आर्थिक प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल (उमेश)ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरुले प्रतिवेदनमाथि राखेका जिज्ञासामा सहकारीका अध्यक्ष खड्का, प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल (उमेश) र बरिष्ठ व्यवस्थापक तुलसीराम धितालले जवाफ दिनुभएको थियो ।
साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्दैछ ।
शनिबारका लागि तय भएको निर्वाचनका कार्यक्रम आइतबार सम्पन्न गर्ने निणर्य भएको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभएको छ । नयाँ नेतृत्व सहमतिमै चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।
हाम्रो चितवन बचत तथा ऋण सहकारीकाे कार्यक्षेत्र भरतपुर, रत्ननगर,कालिका नगरपालिकाका र ईच्छाकामनाकाे वडा नम्वर-७ रहेको छ ।