चितवन, । भरतपुरबाट माडी जाने पुरानो सडक संसोधन गरी छोटो दुरीको राजमार्ग बन्न मन्त्रिपरिषदले निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषदको वैठकले अहिले भइराखेको जगतपुरको कसरा हुदै वनकट्टा निस्कने बाटो लामो भएको ले त्यसलाई हटाएर मेघौलीको ध्रुवघाट हुदै कनकट्टा जाने बाटो बनाउने गरी निर्णय गरेको हो । भरतपुर माडी र माडी ठोरी जोड्ने अहिले सञ्चालनमा रहेको बाटो जङगली जनावरबाट जोखिम र लामो दुरीको भएको भन्दै स्थानीयले धेरै पहिलादेखि छोटो बनाउन माग राखेका थिए ।
राजनीतिक दल र स्थानीयको माग वमोजिम यस अगाडि नयाँ रेखाङकनको लागि प्रस्ताव गएको थियो । सो प्रस्ताव पनि उपयुक्त नभएपछि वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखाले विकल्प सहितको अध्ययन गरेका थियो । विज्ञहरुको अध्ययन अनुसार विहीबार वसेको मन्त्रीपरिषदको बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
हाल निकुञ्जभित्र अमुवा पोष्टबाट बगहीं र बनकट्टा पोष्टबाट ध्रुब हुँदै कसरा पुग्ने सडक रेखाङ्कन रहेको छ । त्यसलाई परिमार्जन गरी हनुमानझुलाबाट कुसुमखोला हुँदै बगही र बनकट्टाबाट ध्रुब हुँदै राप्तीघाटमा पुल निर्माण गरी निकुञ्ज भित्र छोटो सडक बनाउन नयाँ सडक रेखाङ्कनको प्रस्ताव रहेको छ ।
निकुञ्ज भित्रको बाटोको रेखाङ्कन संशोधन सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमती लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेकोमा यसअघि केहि अस्पष्टताका कारण केही समय अगाडि फाइल फिर्ता भएको थियो । सो प्रस्ताव फाइलमा थप डकुमेन्टेशन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपरिषदमा पुनः प्रस्ताव पेश गरेकोमा बिहीबार स्वीकृत भएको हो । यो संगै अब हुलाकी सडक आयोजनालाई सो बाटोको ई.आई.ए. र डि.पि.आर. गर्न बाटो खुलेको छ ।
माडी वासीको वर्षौदेखिको माग पूरा हुने प्रकृयामा पुगेको माडीका स्थानीय टीकाराम सुवेदीले बताउनुभयो । भरतपुरबाट माडी आउनको लागि नयाँ निर्णय अनुसार ७ किलोमिटर बाटो छोटीने छ । त्यस्तै गरी माडीबाट ठोरी जानको लागि निकुञ्जको जनावरको मुख्य वसस्थानबाट हटेर हनुमानझुला मानववस्ती हुदै जाने उहाले बताउनुभयो ।