चितवन । बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा चिप्लिएर लडेर भाग्यले बाच्नु भएका चन्द्रबहादुर थोकरले भारी बोक्ने कामलाई अझै छाड्नु भएको छैन ।
बाह् वर्ष अगाडि नारायणगढको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल मण्डीमा बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा खुट्टा चिप्लिदा घोप्टो परेर सडकमा झर्नु भएको थियो । यसरी लड्दा भ¥याङमा अड्किएपछि ज्यान जोगिएको थियो । लायन्सचोकमा रहेको तरकारी तथा फलफूल मण्डी अहिले सरेर क्षेत्रपुरमा गएको छ । ४२ वर्षिय थोकरसहित ८० जना मजदुरले यही मण्डीमा यसरीनै जोखिम मोलेर तरकारी तथा फलफूल बस ट्रकमा लोड र अनलोड गर्दै आउनु भएको छ ।
थोकर मात्र होइन यहाँ काम गर्ने हरेक मजदुर दिनदिनै जोखिम मोलेर काम गर्दै आउनु भएको छ । ३५ वर्षदेखि यसै गरी काम गर्दै आउनु भएका मजदुरहरुको कुनैपनि सुरक्षाको व्यवस्था गरिएको छैन । रोजगारदाताले मजदुरलाई काम लगाउदा अपनाउनु पर्ने सुरक्षा, जोखिम वहनको व्यस्था र अधिकारको विषयमा जिम्मेवारी नहुदा वर्षौदेखि यसरीनै काम गर्दै आएका छन् ।
मजदुरलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने र उनिहरुको जीवनका आइपर्ने भर अभरमा सहयोग गर्ने भनेर २०७५ सालदेखिनै कार्यान्वयनमा आएको भएपनि यातायात क्षेत्र, निर्माण क्षेत्र लगायतका अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु अझैसम्म सामाजिक सुरक्षा कोषको दायरामा नसमेटिदाँ मजदुरहरु समस्यामा पर्ने गरेकाछन् ।
वर्षौदेखि काम गर्दै आउनु भएका मजदुरहरु कार्यस्थलमा दुर्घटना भए, अङ्गभङ्ग भएमा स्वयम्ले उपचार गर्नु पर्ने वा कामबाट विदा लिनु पर्ने हुन्छ । क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी थोक व्यवस्थापन संघको मातहतमा ८० जना मजदुरले काम गर्दै आउनु भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी तथा फलफूल ढुवानी मजदुर युनियन चितवनका अध्यक्ष राजन ढकालले यही क्षेत्रमा मजदुरी गरेर जीवन विताएकालाई पनि कुनै राहतको व्यवस्था नभएको बताउनु भयो । गाडीमा लोड तथा अनलोड गर्दा ज्यान जाने जोखिम हरेक दिन हुन्छ । उहाले भन्नुभयो ‘ जो जानेका छौ त्यही गर्दै आएका छौ, रोजगारदाताले र सरकार कुनैले पनि हाम्रो अधिकारको विषयमा ध्यान नदिदा बिचल्लीमा परेका छौ ।’ सामाजिक सुरक्षामा समावेस गराउने सरकारले भन्छ तर काम लगाउनेले कुनै व्यवस्था गर्दैन । दुर्घटनामा परे आफैले उपचार गर्नु पर्दछ । काम गर्न नसकेर वृद्ध भएर घर जादा खाली हात जानु पर्दछ । मजदुरका विषयमा अधिकारका कुरा गर्ने जनप्रतिनिधि, संघसस्था सरकार कसैलेपनि ध्यान नदिदा समस्यामा परेको युनियनका अध्यक्ष ढकालले बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राइले मजदुरको संख्या नेपालमा रहेका करिव एक करोड २० लाख मजदुरहरु मध्ये ९० प्रतिशत बढी मजदुर अनौपचारिक क्षेत्रमा काम गर्दै आउनु भएको बताउनु भयो । कानुनमा सबै श्रमिकहरुलाई समाजिक सुरक्षा कोषमा समावेस गर्ने भनिएपनि अनौपचारि क्षेत्रका श्रमिकहरुको सहभागीता नगन्य रहेको बताउनुभयो । राईले भन्नुभयो रोजगारदाताहरुको पहिचान नहुँदा, भएकाहरुले पनि सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई प्रदान गर्ने योजनाहरु बारे जानकार नहुँदा, राज्यले यसबारे गम्भिरता नदेखाउँदा कार्यान्वयनमा ुसमस्या आएको हो ।
अनौपचारिक श्रमिकहरुका लागि स्थानीय सरकारले रकम योगदान गर्नुपर्ने कानुनी व्यवस्था गरेको भएपनि स्थानीय सरकारले श्रम डेस्क स्थापना गरि श्रमिकहरुको सूचिकरण नगरेकाले समस्या भएको राइले बताउनुभयो ।
उहाका अनुसार सरकारले तोकेको मजदुरको न्यूनतम तलब मासिक १० हजार ८२० रहेको छ । तलबको ११ प्रतिशत मजदुर आफैले र २० प्रतिशत रोजगार दाताले व्यवस्था गरेर सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्दछ । काम छाडेको दिनमा त्यही रकम मजदुरले पाउने व्यवस्था रहेको छ । यो औपचारिक क्षेत्रको व्यवस्था हो । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई तोकेको न्यूनतम तलबको ११ प्रतिशत स्थानीय सरकारले र ११ प्रतिशत रकम मजदुर स्वयमले जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ । तर यो व्यवस्था कार्यान्वयनमा आउन नसकेको अध्यक्ष राइले बताउनुभयो ।
कोषमा रकम जम्मा भएमा औषधि उपचार, मृत्यु भएमा राहत, वृद्धअवस्थामा पेन्सनको व्यवस्था हुन्छ । तर क्षेत्रपुरको तरकारी मण्डीमा ३५ वर्षदेखि काम गर्दै आएका मजदुरहरुलाई कुनै समस्या परे साथीहरुले सकेको चन्दा उठाएर उपचार गर्दै आएका छन् ।