शालिग्राम नेपाल ।
चितवन । सहरीकरणको पूर्वाधार भरतपुरमा मात्रै केन्द्रीत हुदा अन्य पालिकामा विकासका कार्यक्रमले गति लिन सकेको छैन ।
सघन सहरी तथा भवन निर्माण कार्यालयको ७४ वटा विकास निर्माणका कार्यक्रम मध्य ३९ वटा पूर्वाधार भरतपुर महानगरपालिकामा मात्रै केन्द्रीत रहेको छ । ठूला निर्माणका कार्यक्रमदेखि साना विकासका योजना महानगरपालिका केन्द्रीत भएको हो । ठुला भौतिक संरचनामा भरतपुर सिटी हलका लागि ८७ करोड ८८ लाख लागतमा निर्माण हुदै गरेको छ । यस्तै गरी ११ करोड २१ लाखको लागतमा देवघाटमा शवदाह गृह निर्माण हुदै गरेको छ ।
ठूलो विकासका निर्माण अन्तर्गत एकीकृत सहर विकास अन्तर्गतको कार्यक्रमका लागि ३१ करोडको लागतमा सडक, वसपार्क, आरती केन्द्रलगायतको काम भइराखेको छ । स्थानीय पालिकालाई सहरी पूर्वाधार निर्माण गर्नको लागि काम गर्दै आएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुर महानगरपालिका केन्द्रीत भएर मात्र काम गर्दै आएको छ । कार्यालयका प्रमुख झपटबहादुर थापाले भन्नुभयो स्थानीय सरकार प्रमुखको पहल कदमी कती हुन्छ त्यही अनुसारका विकास निर्माणका कार्यक्रम पर्ने भएकाले भरतपुरमा धेरै कार्यक्रम आएको जानकारी दिनुभयो ।
छ किलोमिटर लामो छ लेनको सडक र ४ किलोमिटर लामो चारलेनको वाइपास सडक भरतपुर महानगरमा निर्माण पूरा भइसकेका छन् । यी बाहेक भूमिगत विद्युती करणको कार्यक्रम, ग्रामिण सडक स्तरोन्नती लगायतका विकासका ठूला निर्माणहरु भइराखेका छन् ।
जिल्लाका अन्य पालिकामा विकासका कार्यक्रम परेका छन् तर न्यून पूर्वाधारका कार्यक्रम रहेको जानकारी दिनुभयो । जिल्लाको रत्ननगर नगरपालिका र माडी नगरपालिकामा केही विकास निर्माणका कार्यक्रम रहेका छन् । रत्ननगरमा दुइवटा सभाहल निर्माणका कार्यक्रम रहेको छ । सौराहा सभाहल निर्माण सम्पन्न भइसकेको छ भने रत्ननगर सभाहल निर्माणको क्रममा रहेको छ । माडीमा एकीकृत सहरी पूर्वाधारका कार्यक्रम चलिराखेको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख थापाले बताउनुभयो ।
सातवटा पालिका रहेको चितवनमा सडक स्तरोन्नती अन्र्तगत दुइवटा मात्र सडक निर्माणको कार्यक्रम राप्ती नगरपालिकामा परेको छ । छुट्टा छुट्टै सडकलाई १० र १५ करोड रुपियाँ बजेट विनियोजन भएको छ । यो बाहेक यस पालिकामा अन्य कार्यक्रम नभएको सघन सहरी तथा भवन निर्माण कार्यालयले जानकारी दिएको छ । खैरहनी नगरपालिकामा भूवानी शंकर कलेजको भवन निर्माण र अन्य साना सडक कालोपत्रे गर्ने कार्यक्रमहरु रहेका छन् ।
कालिका नगरपालिकामा साना सडक निर्माण, ढल निर्माण, सडक स्तरोन्नती लगायतका थोरै बजेटका कार्यक्रम मात्र रहेको छ । इच्छाकामना गाउपालिकामा कुलेसो, साना सडक निर्माणको कार्यक्रम रहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयले चितवन, मकवानपुर, नवलपुर जिल्लामा सहरी पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।