मुगइ खोला सिचाइ योजना सात वर्षमा ६५ प्रतिशत : काम नभएपछि ठेक्का तोड्ने तयारी

शालिग्राम नेपाल
चितवन । लामो समय बितिसक्दापनि काम नगरेपछि माडी नगरपालिकामा निर्माणाधिन मुगइ सिचाइ योजनाको ठेक्का तोड्ने तयारी भएको छ ।
जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय भरतपुर मार्फत २०७४ असोजमा सम्झौता भएको ठेक्का २०७७ असोजमा सम्पन्न गर्नु पर्ने थियो । पटक पटकको ताकेदा गर्दापनि काम नगरेपछि ठेक्का तोड्ने तयारीमा रहेको जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आठ करोड ६६ लाख रुपियाँको लागतमा निर्माण कार्य भइराखेको सिचाइको काम एक वर्ष भन्दा लामो समयदेखि निर्माण भएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीनै वेखबर हुने, काम केहीपनि नगर्ने भएपछि ठेक्का तोड्ने तयारी भएको उहाले जानकारी दिनुभयो । कार्यालयले एक वर्षे कार्य प्रगतीको विषयमा राखेको समिक्षा प्रतिवेदनमा नै काम सम्पन्न हुने मितिमा अनिश्चित लेखिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यो संगै कैफियतमा हामीले ठेक्का तोड्नको लागि सूचना गरेको समेत उल्लेख भएको उहाले बताउनुभयो ।
मुगइ खोलाबाट किसानको वारीमा कुलो निर्माण गर्नु पर्ने हुन्छ । खोलाबाट वारीका केही भागमा कुलो पुगेपनि ठेक्का सम्झौता भए अनुसारको काम पूरा नभएको उहाले जानकारी दिनुभयो । सात वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत वर्ष काम नगरेकै कारण ८० लाख बजेट फ्रिज भएर गएको पौडेलले जानकारी दिनुभयो । एक करोड रुपियाँ दिएकोमा जम्मा २० लाख रुपयाँको काम भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीको कारण काम हुन नसकेको उहाले बताउनुभयो ।
समुदायले छिटो काम हुनु पर्छ भन्दै दवाव दिनु भएको छ तर फिल्डमा ठेकेदारले काम गरेको छैन जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद हुमागाइले जानकारी दिनुभयो । ठेक्का तोड्ने तयारीमा कार्यालय भएपछि काम गर्छु भनी निवेदन दिन आएको डिभिजन कार्यालये जानकारी दिएको छ ।
जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयले सतही सिचाइको काम गर्दै आएको छ । सतहको सिचाइ मध्य माडी नगरपालिकामा रहेको मुगइ खोलाको सिचाइले धेरै क्षेत्रफलमा सिचाइ हुने भएकाले यसको महत्व धेरै भएको कार्यालयले जानकारी दिएको छ । मुगइ सिचाइ योजनाले आठ सय ति हेक्टर क्षेत्रफलमा सिचाइ हुनेछ । १३ सय घर धुरी रहेको यस क्षेत्रमा छ हजार ५ सय ५२ जना जनसङ्ख्या रहेको छ । माडी नगरपालिकाको वडा नं.४ मा रहेको यो योजना अन्तर्गत मुख्य गरी धान, सिजन र वेसिजनका तरकारी, फलफूल, कृषि मार्फ पशु चौपाय पालनलगायतको क्षेत्रमा योजनाको पानी प्रयोग हुनेछ । आय आर्जनको लागि मुगइ सिचाइ योजना धेरै महत्वपूर्ण भएकाले समयमा सम्पन्न हुनु पर्ने स्थानीय श्रीप्रसाद दवाडीले बताउनुभयो । मुगइ सिचाइ योजनाको ठेक्का सफा शिवशक्ति हेटौडाले पाएको छ ।

 

शेयर गरौ

ताजा अपडेट