माडीमा एकीकृत सहरी पूर्वाधार विकासका कार्यक्रम

 

चितवन । माडी नगरपालिकालाई सुन्दर सहर निर्माणका गर्न एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत विकासका काम भएका छन् ।
सघन सहरी तथा भवन निर्माण कार्यालय मार्फत सडक, पार्क, रिङ रोडको निर्माण कार्य सुरु भएको हो । २०७९ फागुनबाट निर्माण कार्य थालनी भएको एकीकृत विकासका कार्यक्रम अहिलेसम्म ६० प्रतिशत सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । एक वर्ष छ महिनामा सम्पन्न गर्नु पर्ने भएपनि निर्माण व्यवसायीले समयमा काम नगरेपछि छ महिना म्याद थप गरिएको छ । व्यवस्थित सुविधा भएको सहर निर्माण गर्नकालागि निर्माणको काम थालनी भएको हो ।
एकीकृत विकास अन्तर्गत सवैभन्दा धेरै सहरी मापदण्ड अनुसारको सडक निर्माण रहेको छ । सडकपछि आराम गर्नको लागि पार्क निर्माण रहेको कार्यालयले जानकारी दिएको छ । सडक अन्तर्गत छ वटा सडक कालोपत्रे गरिएको छ । छ वटा मध्य तीन वटामा कालोपत्रे गर्ने कार्य सम्पन्न भएका छन् । बाँकी तीनवटा सडक कालोपत्रे गर्नको लागि वेस निर्माण भइसकेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।
१६ करोड रुपियाँ बजेटमा निर्माण भइराखेको सहरी पूर्वाधारमा ८० प्रतिशत बजेट सडकमा रहेको छ । बाँकी बजेट पार्कमा खर्च गरिने कार्यालयले जानकारी दिएको छ । सडक निर्माणमा ढलसहित र ढल नभएको गरी दुइ प्रकारका निर्माण गरिएको छ । कम्तीमा छ मिटर चौडाइ भएको सडक रहेको छ ।


एकीकृत विकास अन्तर्गत वडा नं. ६ मा शान्ति पार्क र वडा नंं २ मा सहिद पार्क निर्माण गरिदै छ । सुन्दर नगरपालिका निर्माणमा पार्क आवश्यक भएकाले योजना अनुसार पार्क निर्माण गरिएको कार्यालयले जानकारी दिएको छ । सहरी पूर्वाधार अन्तर्गत यस वर्षबाट रिङ रोड निर्माणको काम सुरु गरिने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । रिङ रोडका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको छ । तत्कालको लागि थोरै बजेट भएपनि क्रमश वृद्धि हुदै जाने योजना रहेको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास निर्माणको काम सुरु भएको छ । भरतपुरमा ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ भने माडी नगरपालिकामा ६० प्रतिशत काम सकिएको कार्यालयले जानकारी दिएको छ । भरतपुरमा सहरी पूर्वाधार विकास निर्माणको लागि ५० करोड रुपियाँको कार्यक्रम भएपनि ३१ करोड रुपियाँ बजेटबाट काम भइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट