चितवन, १३ भदौ । सामाजिक सञ्जालमा अहिले स्वास्थ्य सम्वन्धी विभिन्न सामग्रीको प्रचार हुने गरेको छ ।
चिकित्सकको सल्लाह विना सामाजिक सञ्जाल, फेसवुक, टिकटकमा प्रचार गरेकै भरमा अनलाइनबाट सामग्री खरिद गरेर प्रयोग गर्नु भएको छ भने सचेत रहनु होला । अनलाइनमा विभिन्न आकर्षक विज्ञापन दिएको भरमा सामग्री खरिद गरेर प्रयोग गर्दा भरतपुरका भुवनेश्वरी आचार्य थप समस्यामा पर्नु भएको छ ।
भरतपुर महानगरपालिका वडा नंंं. ५ घर भएका आचार्यको गोडा दुख्ने, सुन्निने समस्या धेरै वर्षदेखि रहेको थियो । उहाँको श्रीमान विष्णुप्रसाद आचार्यले फेसबुकमा आएको प्रचारको भरमा सिल्भर सिक्स वाम तेल लगाउने निश्चित गरेर अर्डर गर्नु भयो । एक वोतल एकहजार हजार रुपियाँमा दुइ वोतल खरिद गर्नु भएको सामग्री घरमा नै ल्याइदियो ।
दुखाइ कम हुने आशामा श्रीमतीलाई गोडामा लगाउन उहाले सुझाउनु भयो । अनलाइनबाट मगाएको सामग्री गोडामा लगाएको भोली पल्टबाटै नभएको समस्या देखा पर्न थाल्यो पीडित भुवनेश्वरी आचार्यले भन्नुभयो । मलाइ गोडा सुन्निने र दुख्ने मात्र भएको थियो यो तेल लगाएपछि आगोले पोलेको जस्तो फोका उड्न थाल्यो झन पीडा भयो ।
अझ गोडा सुन्निने र थप जलन भएपछि भरतपुर अस्पतालमा आएर उपचार गर्नु भयो । श्रीमान विष्णुप्रसादले भन्नुभयो दुखाइ कम हुन औषधि मगाएको नभएको समस्या देखा पर्न थाल्यो । दुइहजारमा किनेको तेल लगाउदा १० हजार रुपियाँ खर्च गरेर उपचार गराएको छु । अझै निको भएको छैन उहाले भन्नुभयो । अनलाइनमा म्यासेज पठाए गुनासो राख्नु भयो हामी हेर्छाै भनेको छ कुनै प्रतिक्रिया छैन । हामी समस्यामा परेका छौ ।
अनलाइबाट झुटा सामग्री प्रचार गरेर उपभोक्तालाई ठगी गर्ने क्रम वृद्धि भएकाले सवै भन्दा पहिला उपभोक्तानै सचेत हुनु पर्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्याक्ष विष्णुप्रसाद भुसालले बताउनुभयो । आजभोली अनलाइनबाट पैसा मागेर ठगी गर्ने, सामग्री विक्री गर्दा त्यसको जिम्मेवारी नलिने, अर्डर गरेको भन्दा फरक सामग्री ल्याइदिने, ठगी गर्ने क्रम वृद्धि भएको उहाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले अनलाइन ठगीका उजुरी दैनिक ४० भन्दा धेरै हुने गरेको बताउनुभयो । आफूलाई ठगी गरेको महसुस भएमा लिखित रुपमा उजुरी दिएमा कार्वाहीको प्रकृया अगाडि वढाउने जानकारी दिनुभयो । यसरी अनलाइन गठी गर्ने समुहलाई अनुसन्धानबाट कार्वाही गरिएको बताउनुभयो । सामाजिक सञ्जालमा प्रचार गर्ने, प्रचार गरे अनुसारको सामग्री उपलब्ध नगराउने, उद्देश्य विपरित कार्य भएमा प्रचलित कानुन अनुसार ठगी कसुर अनुसार कार्वाही गरिने बताउनुभयो ।