अस्थायी प्रहरी चौकीको भरमा कालिका नगरपालिकाको सुरक्षा

चितवन । चितवनको एक मात्र कालिका नगरपालिकामा अस्थायी प्रहरी चौकीले सुरक्षा प्रदान गर्दै आएको छ ।
जिल्लाको संवेदनशील क्षेत्र भएपनि वर्षाैदेखि अस्थायी प्रहरी चौकीको भरमा सुरक्षा प्रदान भइराखेको हो । एउटा पालिकामा अधिकृत स्तरको प्रहरी दरवन्दी राख्ने नीति भएपनि राख्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताउनुभयो । ‘नीतिमा छ तर हामीले मात्र भनेर हुदैन नेपाल सरकारले नै दरवन्दी थप गरेर बजेट निकासा गर्नु पर्दछ ’ उहाले भन्नुभयो ‘ सुरक्षाको संवेदनशीलताले हेर्दा कालिका नगरपालिका महत्वपूण रहेको छ ।’
एउटा पालिकामा स्थायी रुपमा अधिकृत सरहको दरवन्दी चाहिएको छ तर अहिले अस्थायी प्रहरीको भरमा एउटा पालिकाको सुरक्षा गर्नु पर्दा धेरै कठिन भएको भण्डारीले बताउनुभयो । प्रहरी प्रधान कार्यालयमा दरवन्दी थपको लागि पहल गरिदिन हामीले पत्राचार गरेका छौ तर हाम्रो पहलले सफलता पाउन सकेको छैन ।
जिल्लामा सातवटा स्थानीय तह रहेको छ । छ वटा पालिकामा अधिकृत स्तरको प्रहरी चौकी रहेका छन् । जिल्लाको एउटा मात्र इच्छाकामना गाउपालिका मुग्लिनमा प्रहरी इनिस्पेक्टरको दरवन्दी रहेको छ । राप्ती नगरपालिकाको भण्डामा, माडी नगरपालिका, खैरहनी नगरपालिकाका इलाका प्रहरी कार्यालय रहेको छ । सवैमा इनिस्पेक्टरको दरवन्दी रहेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा डीएसपीको दरवन्दी रहेको छ ।
भरतपुर महानगरपालिकामा जिल्ला प्रहरी कार्यालय रहेको छ भने इलाका प्रहरी कार्यालय वडा प्रहरी कार्यालयमा समेत इनिस्पेक्टर तहको दरवन्दी रहेको छ । तर कालिका नगरपालिकामा सइको कमाण्डमा अस्थायी प्रहरी रहेको छ । यो प्रहरीले जनताको आवश्कयता अनुसार सुरक्षा प्रदान गर्न ज्यादै कठिन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हरेक पालिकामा अधिकृत स्तरको दरवन्दी आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सुरक्षा समितिको वैठकबाट यो विषयमा छलफल गरी मन्त्रालयमा दरवन्दीको लागि पहल गर्ने जानकारी दिनुभयो । अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेमा मन्त्री परिषदको वैठकले मात्र दरवन्दी थप्ने भएकाले यो कार्यमा धेरै पहल गर्नु पर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
रत्ननगर हुदै कालिका नगरपालिका भएर पृथ्वी राजमार्ग जोड्ने सडक निर्माण भइसकेको सुरक्षाको दृष्टिले धेरै आवश्यकता भएपनि स्थायी प्रहरी चौकी नहुदा धेरै समस्या भएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । हामीले धेरै पटक पहल गरेका छौ तर अधिकृत स्तरको दरवन्दी भएको छैन । यही क्षेत्रबाट सांसद हुनु भएका रवि लामिछाने दुइ पटक गृहमन्त्री हुनु भयो तर अधिकृत स्तरको प्रहरी चौकीको दरवन्दी गर्न सक्नु भएन पालिका प्रमुख रेग्मीले भन्नुभयो ।
इलाका प्रहरी चौकी नहुदा असुरक्षित महसुस भइरादेको उहाले बताउनुभयो । इलाका प्रहरी कार्यालय स्थापना गरेर त्यही बाट मुद्दाको अनुसन्धान कार्य थालनी गर्ने गरी व्यवस्था गर्न आफ्नो पहल हुने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
नगरपालिकामा साविकका चार गाबिसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको थियो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गाविसको जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्या ५२, हजार १६४ रहेको छ । घरधुरी संख्या १२ हजार २५८ रहेको छ । भौगोलिक हिसाबले समथर र केही भुभाग पहाडी क्षेत्र रहेको छ ।
पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको छ । यस नगरपालिकाको अन्य समथर क्षेत्रमा शहरीकरण हुदै गएको छ । पूर्वमा खैरहेनी नगरपालिका, पश्चिम –भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट