चितवन । भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापर्वाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं.१२ मुनालचोकमा वस्दै आउनु भएको ३९ वर्षिय सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाको लागि मंगलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाको लागि तयारी गर्न लठ्याउने सुइ (एनेस्थेसिया) लगाइएको थियो । लठ्याउने सुइ लगाएपछि होस नआइ राति ९ बजे मृत्यु हुन पुगेको थियो ।
आइसियुमा राखि उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापर्वाहीको कारण मृत्यु भएको भन्दै छानविन गरी दोषी उपर कार्वाहीको माग गरेको अस्पतालको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
पाठेघरमा सिष्ट भएपछि उहाको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको उहाले जानकारी दिनुभयो ।
उपचाररत विरामीको मृत्यु पछि देखिएको समस्या समाधान गर्न सम्वन्धीत पक्ष राखेर वैठक वसरी समाधान गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि आफन्तले छानविन समिति राख्न माग गरेपछि घटनाको जिल्ला सुरक्षा समितिको आकस्मिक वैठक वसी समाधान गर्न थालिएको उहाले बताउनुभयो ।