तीन अर्ब ६९ करोड बजेट खर्च नभएर फिर्ता

 

चितवन । गत आर्थिक वर्षमा चितवनमा आएको बजेट तीन अर्ब ६९ करोड ३६ लाख ४३ हजार खर्च नभएर फिर्ता भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा आएको बजेटमा सबै भन्दा धेरै संघ तर्फको बजेट खर्च हुन नसकेर फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख यामनारायण शर्माका अनुसार संघ र प्रदेश गरी चितवन जिल्लामा २४ अर्व ७१ करोड ९४ लाख ४० हजार ७४० रुपियाँ आएको थियो । ती रकम मध्य २१ अर्ब २५ करोड ७९ लाख ७ हजार ७०३ रुपियाँ खर्च भएको छ ।
खर्च भएको मध्य संघ तर्फ १७ अर्व २० करोड ७६ लाख ५२ हजार १०८ रुपियाँ रहेको छ । त्यस्तै गरी प्रदेशको बजेटमा तीन अर्ब ८१ करोड ८१ लाख ४५ हजार ५९५ रुपियाँ खर्च भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
खर्च भएको विवरणलाई हेर्दा संघ तर्फ ८७.१८ प्रतिशत भएको छ । दुइ अर्व ५३ करोड ४३ लाख रुपियाँ फिर्ता भएको जम्मा रकमको १३ प्रतिशत बजेट फिर्ता भएको हो । फिर्ता हुनेमा विकास बजेट धेरै रहेको छ । विकास निर्माणको काम गर्नको लागि नसेको कारण फिर्ता भएको शर्माले बताउनुभयो । विकास बजेट मात्रै २८ प्रतिशत खर्च हुन सकेको छैन ।
प्रदेशको बजेटलाई हेर्दा ४ अर्व ९८ करोड १३ लाख ५८ हजार रुपियाँ आएकोमा तीन अर्व ८१ करोड ८१ लाख ४५ हजार खर्च भएको छ । कुल बजेटको एक अर्ब १६ करोड ३२ लाख १२ हजार रुपियाँ खर्च नभएर फिर्ता भएको छ । प्रदेशको कुल बजेटको २४ प्रतिशत रकम फिर्ता भएको छ कार्यालयले जानकारी दिनुभयो ।
जिल्लामा संघ र प्रदेश सरकारको पुँजीगत बजेट १० अर्ब ५ करोड ९३ लाख ८० हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये सात अर्ब ४१ करोड ९७ लाख ८४ हजार ९८४ रुपैयाँ मात्रै खर्च भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा ३७ प्रतिशत विकास बजेट फ्रिज भएर फिर्ता भएको थियो । सो वर्ष चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार रुपैयाँ खर्च भएको थिएन। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष पुँजीगत बजेट जिल्लामा तीन अर्बभन्दा बढी रकम घटेर आएको थियो । तर, पनि पुरा काम हुन नसकेर फिर्ता गएको उहाले बताउनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत संघ तर्फका ६४, प्रदेश तर्फका ३८ वटा कार्यालय र सात वटा स्थानीय तहको भुक्तानी हुने गर्दछ । संघीय सरकारबाट चितवनका लागि छ अर्ब ६९ करोड ७४ लाख ४५ हजार २७८ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो। त्यसमध्ये चार अर्ब ८७ करोड ५ लाख ५३ हजार २७४ रुपैयाँ मात्र खर्च भएको छ । यसरी संघको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ। ‘संघको चालु खर्च ९४ प्रतिशत भएको छ। पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ । यसरी समग्रमा ८५ दशमलव १८ प्रतिशत खर्च भएको छ ।
चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । संघ र प्रदेशको चालु बजेट १४ अर्ब ६६ करोड ५९ हजार रुपैयाँ थियो । संघ तर्फ चालु बजेट १३ अर्ब ४० करोड ६२ लाख ९४ हजार ४७३ रुपैयाँ थियो । संघ तर्फको चालु खर्च ९४ प्रतिशत छ । १२ अर्ब ३३ करोड ७० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ ।
२८ प्रतिशत रकम असारमा भुक्तानी
कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनबाट विकास बजेटको २८ प्रतिशत रकम असारमा मात्र भुक्तानी भएको छ । जिल्लाका कार्यालयहरूले असार महिनामा मात्रै २ अर्ब ७ करोड ९३ लाख ६८ हजार रुपैयाँ भुक्तानी लगेका छन् । संघ तर्फको छ अर्ब ६९ करोड ७४ लाख ५२ हजार रहेको पुँजीगत बजेट मध्ये ४ अर्ब ८७ करोड ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।
त्यसमध्ये असार महिनामा मात्रै एक अर्ब १२ करोड ४४ लाख ३५ हजार रुपैयाँको भुक्तानी भएको कार्यालयले जानकारी दिएको छ । यस्तै, प्रदेश तर्फको भुक्तानी भएको दुई अर्ब ५४ करोड पुँजीगत बजेट मध्ये असार महिनामा मात्रै ९५ करोड रुपैयाँ ४९ लाख ५३ हजार रुपैयाँ भुक्तानी भएको छ ।

शेयर गरौ

ताजा अपडेट