चितवन । भरतपुर महानगरलाई सुन्दर सहर निर्माणकालागि सुरु भएको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सम्पन्न हुने चरणमा पुगेको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय मार्फत तीन वटा क्षेत्रमा विभाजन गरी गरिएको निर्माण कार्य असी प्रतिशत सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । व्यवस्थित सुविधा सम्पन्न सहर निर्माण गर्नको लागि तीन वटा खण्डमा काम थालनी भएको थियो ।
२०७९ फागुन महिनाबाट सुरु भएको विकास निर्माण कार्य अहिले सम्पन्न हुने चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ । तीन वटा खण्डमा काम थालनी गरिएको सहरी पूर्वाधार अन्तर्गत आर्थिक आय आर्जनको क्षेत्रमा हाटबजार निर्माण, वसपार्क निर्माणका कार्यक्रम रहेका छन् । भौतिक निर्माण अन्तर्गत फराकिलो बाटो, फुटपाथ, कलवट रहेको छ । त्यस्तै सामाजिक पूर्वाधार अन्तर्गत आरती स्थल निर्माण रहेको कार्यालयका सूचना अधिकारी द्रोण कटुवालले जानकारी दिनुभयो ।
सहरी पूर्वाधार विकास निर्माणको लागि ५० करोड रुपियाँको कार्यक्रम भएपनि अहिले ३१ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । ३१ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको सूचना अधिकारी कटुवालले जानकारी दिनुभयो । विनियोजित बजेट अन्र्तगत ५० प्रतिशत भौतिक निर्माणमा खर्च हुनेछ । बाँकी बजेट आर्थिक आय आर्जन र सामाजिक पूर्वाधार क्षेत्रमा लगानी हुने उहाले जानकारी दिनुभयो ।
भौतिक निर्माण अन्र्तगत बसेनी बाइपास सडक, शुक्रनगर देवी स्थानको सडक, पटिहानी, मङगलपुर, काडाघारी क्षेत्रमा सडक निर्माण कार्य पूरा भएको छ । यी क्षेत्रमा निर्माण गरिएको सडक सातदेखि १२ मिटरसम्म फराकिलो रहेको छ । ग्रामिण क्षेत्रमा भएका सडक साघुरो भएको कारण सवारी साधन दोहोरो सञ्चालन गर्न कठिनाइ भएको थियो । सहरी पूर्वाधार कार्यक्रम अन्र्तगत निर्माण गरिएका साघुरा सडक अहिले कम्तीमा ७ मिटार चौडाइ भएका छन् । ढल सहित निर्माण भएका सडकमा सवारी साधान निर्वाद रुपले सञ्चालन गर्न सकिन्छ भने स्थानीय उत्पादन बजारसम्म ल्याउन कुनै समस्या नभएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।
आर्थिक आय आर्जनको क्षेत्र अन्तर्गत देवघाटधाममा सुविधा सम्पन्न बसपार्क निर्माण कार्य भइराखेको छ । बसपार्क निर्माणमा दुइ करोड रुपियाँ बजेट विनियोजन भएको छ । अहिले वसपार्क निर्माणको काम धमाधाम भइराखेको सूचना अधिकारी कटुवालले जानकारी दिनुभयो ।
कार्यालय सञ्चालनको लागि भवन निर्माण भएको छ भने बसपार्कको लागि स्थान निर्माण कार्य भइराखेको छ । ढल व्यवस्थापनको काम भइराखेको उहाले बताउनुभयो । वसपार्क निर्माणपछि देवघाटधाममा आउने सवारी साधनको सुरक्षा र पार्किङ समस्या समाधान हुने कटुवालले बताउनुभयो ।
नारायणी नदी किनारमा निर्माण हुने आरती स्थलको काम भने सुरु हुन सकेको छैन । सामाजिक पूर्वाधार अन्तर्गत निर्माण हुने आरती स्थल सुरक्षित स्थानको खोजी भइराखेको छ । कार्यलयका प्रमुख थापाले भन्नुभयो पहिचान गरेको स्थानमा वर्षातमा वाढी आएर जान नसकिने हुन्छ । हिउदामा अत्यन्त उपयुक्त भएपनि वर्षातमा जोखिम हुने भएकाले उपयुक्त स्थानको खोजी भइराखेको छ । सुरक्षित स्थान पहिचान भएपछि यसको निर्माण कार्य सुरु हुने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणका पूर्वाधारमा महानगरपालिकाले फड्को मारेको बताउनुभयो । भरतपुरको मुख्य क्षेत्रमा पानी निकास नहुने समस्या थियो त्यसलाई विस्तारै समाधान गरेका छौ । व्यवस्थित सहर निर्माणका लागि धेरै विषयमा ध्यान दिनु पर्ने हुन्छ त्यसैले एकीकृत विकास अन्र्तगत काम भइराखेको बताउनुभयो । महानगरको मुख्य स्थानदेखि ग्रामिण क्षेत्रसम्म जादा सहरी पूर्वाधारको अनुभूति गराउनको लागि निर्माणको काम भइराखेको उहाले बताउनुभयो । गाउँगाउँमा अहिले फराकिलो सडक पुगेको छ । कुनैपनि कुनाबाट सामान ल्याउन लैजान समस्या छैन । सडकको पहुँच पुगेपछि आय आर्जनको बाटो खुलेको प्रमुख दाहालले बताउनुभयो ।