शालिग्राम नेपाल ।
चितवन, ३० साउन । दाताको भरमा बत्तिस वर्षदेखि चितवनको वागेश्वरीमा स्थानीय जातको गाई संरक्षण गरि पालिएको छ ।
स्थानीय जातको गाइलाई संरक्षण गर्नु पर्दछ भन्ने उद्देश्यले देवघाटधाम नजिकै रहेको वागेश्वरी वन क्षेत्रमा पालिएको हो । २०४९ सालमा सात वटा गाइबाट सुरु गरिएको गौ संरक्षण केन्द्रमा अहिले २३० वटा गाई रहेको योगी नरहरि नाथ गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।
स्थानीय जातको गाई लोप उन्मुख हुन लागेको भन्ने उद्देश्यले संरक्षण गर्न थालिएको हो उहाले भन्नुभयो ‘हिन्दू धर्ममा गाईलाई हामीले भगवान मान्दछौ, गाईको महिमा धेरै छ त्यसैले हामीले संरक्षण गरेका हौ ।’ गाईको महत्व विगतमा भन्दा अझ वढेर गएको छ संयोजक ढकालले भन्नुभयो ।
गाईलाई आवश्यक पर्ने दानापानी, घाँस, चरण, सुरक्षाको व्यवस्थाका लागि केही व्यक्तिले सहयोग गर्दै आउनु भएको छ । गाईको महत्व बुझ्नेहरुले पराल सहयोग गर्नु हुन्छ, औषधि उपचारको लागि सहयोग गर्नु हुन्छ यस्तैबाट अहिलेसम्म चलेको छ ढकालले भन्नुभयो । गौ मुत्रलाई प्रशोधन गरेर बिक्री गर्ने गरेका छौ । यसलाई औषधिको रुपमा प्रयोग गरिन्छ । त्यसबाट आएको रुपियाँले केही राहत मिलेको उहाले बताउनुभयो ।
गौ संरक्षणको लागि सरकारलाई सहयोग गर्न अनुरोध गरेपनि सहयोग नपाएको उहाले बताउनुभयो । धेरै पहल गरेका थियौ तर पाइएन त्यसैले भगवनाको कृपाले अहिलेसम्म दाताहरु भेटिएको छ । उहाँहरुको सहयोगले नै चलेको छ संयोजक ढकालले भन्नुभयो ।
गाईको मुत्रलाई दम, ग्याष्टिक, घाउखटिरा, छाला सम्बन्धी समस्या, पाचन प्रकृयामा भएको समस्यालगायतको लागि औषधिको रुपमा प्रयोग गरिएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीका डाक्टर हेमराज कोइरालाले गौ मुत्रको प्रयोगबाट धेरै रोग निको पार्न सकिने बताउनुभयो ।
स्थानीय जातको गाईको मुत्रको प्रायेग संगै अन्य विधि अपनाएर बिरामीलाई निको पारिएको छ उहाले भन्नुभयो ‘गौ मुत्र मात्र होइन अन्य विधिहरु खानपान, आनीवानी, सात्विक भोजन, व्यायामलगायत रोग अनुसारका विधि अपनाएर निको पारिएको छ ।’ हामीले बिरामीलाई गौ मुत्र सेवनका विधि र प्रयोग गर्न लगाउने गरेका छौ डाक्टर कोइरालाले भन्नुभयो ।
गौ संरक्षण समितिमा रहेको बचतको पैसाको व्याजले दानापानी, गौ मुत्रबाट औषधि बनाएर बिक्री गरेको मासिक ३५ हजार रुपियाँ र दाताको सहयोगमा अहिलेसम्म गाईलाई संरक्षण गर्दै आएको छ ।
ढकालले भन्नुभयो ‘अहिले गाउँमा जाने हो भने वर्णशंकर जातका गाई पालिएका छन् । ती गाईले धेरै दुध दिन्छन् र पैसा कमाउन सकिएला तर हाम्रो स्थानीय जात लोप भएर जान्छन् ।’ त्यसैले गाईको संरक्षण पनि हुने र पाल्नको लागि आय स्रोत जुटाउन औषधि निर्माण गरेर बिक्री गर्दै आएका छौ उहाले भन्नुभयो ।
यसरी पालिएको गाईलाई दिउसो जंगलमा चरनको लागि लैजाने गरिएको छ । ती गाईको संरक्षणमा ७ जना जनशक्ति परिचलन गरिएको छ । धार्मिक कार्यमा स्थानीय जातको गाई दान गर्न चाहेमा निश्चित रकम दिएर लैजान सकिने र पुन ल्याएर छाड्न मिल्ने गरी व्यवस्था मिलाइएको उहाले बताउनुभयो । यहाँ जन्मेकालाई बिक्री गर्ने व्यवस्था नरहेको समितिले जानकारी दिएको छ । स्थानीय जातको गाई लोप हुनबाट जोगाउनलाई नै यो कार्य गरिएको संयोजक ढकालले बताउनुभयो ।
गौ संरक्षणको लागि वार्षिक ७२ लाख रुपियाँ खर्च हुदै आएको छ । गौ मुत्र बिक्री गरेको रकम, दाताले गरेको सहयोगको रकम बैंकमा राख्ने र त्यसको व्याज, सहयोगीहरुको रकमबाट अहिलेसम्म सञ्चालन हुदै आएको उहाले जानकारी दिनुभयो ।
गोबरबाट इट्टा गमला बनाइने
स्थानीय जातको गाइको गोवरबाट इट्टा, गामला, धुप लगायतको सामग्री बनाउने तयारी वागेश्वरी आध्यात्मिक परिषदले गरेको छ । भारतको विभिन्न स्थानमा यस्ता सामग्री बनाएर प्रयोगमा ल्याएकाले नेपालमा पनि निर्माण गर्ने तयारी रहेको छ । तत्काल बजेटको अभाव भएकाले हामीले काम अगाडि वढाउन सकेका छैनौ वागेश्वरी आध्यात्मिक परिषदका अध्यक्ष शैलेन्द्र पियाले बताउनुभयो ।
सरकारसंग छलफल भएको छ यसले मुर्त रुप लिने तयारीमा रहेको छ । कम्तीमा ७० लाख भएमा मेसिन खरिद गरेर गोबरबाट इट्टा, गमला, धुपलगायतको सामग्री बनाउन सकिन्छ । मेसिनको लागि ४० लाख रुपियाँ लाग्दछ । बाँकी अन्य समाग्री व्यवस्थापन गर्नको लागि खर्च हुन्छ । यसरी मेसिन ल्याएर काम गर्ने तयारीमा रहेको अध्यक्ष पियाले बताउनुभयो । केही महिनापछि हाम्रो योजना अनुसार अगाडि वढ्ने छौ । यसरी निर्माण गरिएको सामग्री वलियो हुने देखिएको छ ।
फोटो क्याप्सन ः चितवनको वागेश्वरीमा संरक्षण गरि पालिएको स्थानीय जातको गाई चरनको लागि जंगल लैजादै । फोटो ः शालिग्राम नेपाल