चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार १३ औं अन्तराष्ट्रिय हात्ती दिवस भव्य रुपमा मनाइएको छ ।
हात्तीको संरक्षण गरौ भन्ने सन्देश दिन युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाले कार्यक्रम आयोजना गरी ६० वटा हात्तीलाई वनभोज गरेको छ । कार्यक्रममा हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरिएको थियो । बाघमरा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको छ ।
हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केक सहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना र निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफूलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गर्नु भयो ।
हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । अध्यक्ष खतिवडाले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसंग पैदलयात्र सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताउनुभयो । हात्ती दिवस मनाउन आयोजित कार्यक्रममा सौराहाका व्यवसायी तथा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती दिवसलाई राज्यले प्राथमिकता नदिएको भन्दै आगामी दिनमा दिबसको कार्यक्रम सरकारी स्तरबाट मनाउनु पर्नेमा जोड दिनुभयो ।
बाघमारा वनका अध्यक्ष जीतु तामाङले पर्यापर्यटन र हात्तीको महत्वको बारेमा प्रकास पार्नुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुनले हात्ती सफारीको विकल्प खोज्नुको साटो हात्तीको उपयोग र संरक्षणलाई ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै उहाले धार्मिक आस्था र हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकरात्मक प्रभावलाई जनस्तर सम्म लैजानु पर्ने बताउनुभयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । निजी स्तरमा पालेका हात्तीहरुलाई चरिचरणको समस्या रहेको छ उहाले भन्नुभयो राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पतीको रुपमा ग्रहण गर्नु पर्दछ । । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।