चितवन । नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा लिएको छ ।
चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे बाघ नियन्त्रणमा लिएको हो । अहिले प्राविधिक टोलीले डार्ट गरेर बेहोस बनाएका छन् । वेहोस बनाएको बाघलाई चितवन निकुञ्जको खोरमा राख्न लगिएको छ । वंगाल जातको बाघ वयस्क अवस्थाको रहेको निकुञ्जले जानकारी दिएको छ । १२ वर्षको वंगाल जातको बाघ नेपालमा १२८ वटा रहेको छ ।
आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए । पछि सौराहाबाट थप दुई हात्ती ल्याइएर बाघलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।