भैरहवा, । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतासाथ अन्तर्राष्ट्रिय उडान प्रयोगमा ल्याउन सरकार लागि परेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार आफ्नो फेसबुकमार्फत थाई एयर एसियाले साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जानकारी गराउँदै त्यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रीपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्नेजिम्मेवारी तोकेको बताउनुभएको छ ।
यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने उल्लेख गर्दै उहाँले विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गर्नुभएको छ । यसरी भैरहवा विमानस्थल सञ्चालनमा आउने भएपछि व्यवसायी उत्साहित भएका छन् । लामो समय अन्तर्राष्ट्रिय उडानविहीन भएको भैरहवास्थित गौतम बुद्ध विमानस्थल अब भने केही चलायमान हुने अपेक्षा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बैङ्कक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवा उडानको अनुमति बिहीबार दिएको हो । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले थाई एयरले कम्तीमा सातामा चार उडान सुरु गर्ने भएपछि व्यवसायी खुसी भएको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले शिथिल बनेको पर्यटन क्षेत्र उकास्न थोरै भए पनि यसले राहत मिलेको बताउनुभयो ।
थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समय तालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरे अनुसार समय ९स्लट० दिइने प्राधिकरणले जनाएको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्तासमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैङ्क ग्यारेन्टीमार्फत गत चैतमा नै बुझाइएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो । नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ ।
२०७९ जेठमा भैरहवा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्नुभएको थियो । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेको थियो तर उडान नियमित हुन सकेन ।
प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार जजिराले भैरहवामा जम्मा ११० वटा उडान ग¥यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान भएको थियो । त्यो पनि अहिले रोकिएको छ । गत वर्ष जेठदेखि नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौँ आउने उडान सातामा एक दिन ९मङ्गलबार० भैरहवामा ‘टचडाउन’ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आएको छ ।