चितवन समाचार डटकम
चितवन २१ फागुन ।
अबको दुइ महिनामा भरतपुर मेघौली सडकखण्डको सबै स्थानमा कालोपत्रे पूरा हुने भएको छ ।
पश्चिम चितवनको भरतपुर मेघौली सडकको शारदानगर चनौली खण्डमा कालोपत्रे नहुदा समस्या भोग्दै आएकालाई दुइ महिनापछि सहज हुने भएको हो । शारदानगरदेखि चनौलीको पुलसम्मको स्थानमा कालोपत्रे नहुदा पश्चिम चितवनबासीलाई यात्रा गर्न कठिन हुने गरेको थियो ।
शारदानगरको धर्मोदय चोकदेखि चनौलीको रातोपुलसम्म कालोपत्रेको लागि धमामक काम भइराखेको छ । सडकको दुवैतर्फ ढल निर्माण सम्पन्न गरी कालोपत्रेको लागि फिलिङ गर्ने काम भइराखेको निर्माणको जिम्मा पाएको विराज एण्ड जेभीका स्रोत व्यक्ति राजु सडौलाले जानकारी दिनु भयो । ‘हामीले फागुन महिनामा फिलिङको काम सकेर चैत्रबाट कालोपत्रे गर्ने तयारी गरेका थियौ’ उहाले भन्नु भयो ‘बजेट निकासा ढिला भएको, गिटी बालुवा झिक्न नपाएको कारणले केही समय पछि सरेको छ ।’
अहिले काम गर्न कुनै समस्या नभएकाले बैशाख महिनामा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइराखेको उहाले जानकारी दिनु भयो । करिब ५ किलोमिटरको खण्डमा हुन लागेको कालोपत्रे निर्माणपछि भरतपुरबाट मेघौली सहजै यात्रा गर्न सकिन्छ । सो सडक खण्डमा अहिले ग्राबेल विछ्याएर डोजरले सम्याउने काम गर्दै आएको छ । ५ करोड ७७ लाखको लागतमा निर्माण हुदै गरेको सडकले यस क्षेत्रको वर्षौदेखिको समस्या समाधान हुने प्रदेश साँसद कृष्णप्रसाद भुर्तेलले जानकारी दिनु भयो ।
सडक निर्माणको लागि छुट्टाएको बजेटले ढलसहितको अन्य काम गर्न बजेट अपुग भएपछि ३ करोड ९२ लाख बजेट ल्याउनको लागि फाइल मन्त्रालयमा रहेको उहाले बताउनु भयो । थप बजेट आएपछि चनौली बजार र अहिले निर्माण भइराखेको सडकको स्वरुपमा धेरै परिवर्तन हुने उहाले जानकारी दिनु भयो ।
निर्माण कम्पनीका स्रोत व्यक्ति सेडौला अनुसार नौ मिटर फराकिलो सडकमा ७ मिटर कालोपत्रे गरिदैछ । चनौली बजार क्षेत्रमा भने ८ देखि ९ मिटरसम्म कालोपत्रे गर्ने तयारी रहेको उहाले जानकारी दिनु भयो । चनौली बजार नजिकैको साघुरो पुल भत्काएर निर्माणको काम अहिले धमाधाम चलेको सडौलाको भनाइ छ ।
चनौली बजारदेखि दिव्यनगरको चोकसम्म भत्केको सडक मर्मतको लागि एक करोड बजेट आइसकेकाले यसको पनि काम एक महिना भित्र सम्पन्न हुने प्रदेश साँसद भुर्तेलले बताउनु भयो । अब भरतपुरबाट मेघौलीसम्म चिल्लो कालोपत्रेमा यात्रा गर्न सकिन्छ भुर्तेलले भन्नु भयो । बाटो सहज बनेमा मेघौलीदेखि भरतपुर गएर दैनिक कार्यालय जान सजिलो हुने स्थानीय निरज भटट्ले खुसी व्यक्त गर्नु भयो ।