चितवन, । मुग्लिन नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने पुल निर्माण एघार वर्षपछि गती लिन थालेको छ ।
घुमाउनेबाट दमौली जानकोलागि छोटो मार्ग हुने भएकाले यो सडक निर्माणको काम सुरु भएको थियो । दमौलीबाट दक्षिण पूर्व हुदै मुग्लिन नारायणगढ सडको घुमाउनेमा जोडिन्छ । मुग्लिनबाट दमौली जान भन्दा घुमाउनेबाट जादा १० किलोमिटर सडक छोटो दुरी पर्दछ ।
पहाडी क्षेत्रका वस्तीलाई सडक सञ्जालसंग जोड्न र वैकल्पिक राजमार्ग निर्माणको काम सुरु गरिएको थियो । वैकल्पिक राजमार्ग अन्तरगत यो सडकलाई जोड्न घुमाउनेमा २०७० असार २८ गते पुल निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौता वमोजिम काम हुन नसकेपछि म्याद थप गर्दै आएको कम्पनीले अहिले कामलाई अगाडि बढाएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले ठेक्का लागेर बन्न नसकेको लामो समयपछि निर्माणले गती लिएको छ । दुइवटा पिल्लर बनि सकेका छन् अब छिटो माथिको ढलान हुनेछ । ठेकेदारलाई ताकेता गरेर काम गर्न लगाएका छौ ज्ञवालीले भन्नुभयो ।
सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी वविता शर्माले पछिल्लो पटक थपिएको म्याद चालु आर्थिक वर्षको चैत २२ गते सकिन्छ । ‘भौतिक प्रगती हेर्दा चालिस प्रतिशत सकिएको पाएका छौ’, शर्माले भन्नुभयो ‘सुरुमा ठेक्का सम्झौता भएपछि काम हुन सकेन, पछि डिजाइन परिवर्तन भएपछि काम सुरु भएको छ ।’ घुमाउनेमा त्रिशूली नदी माथि निर्माण हुने पुलको लम्वाइ १०५ रहेको छ । अहिले पुलको दुवै तर्फ पिल्लर निर्माण भएको छ ।
निर्माण स्थामा सामान्य पहाड काटेर राखेको वर्षौपछि निर्माण कार्य भएको हो । तनहुँ र चितवन तर्फ दुइवटा अग्ला पिल्लर निर्माण भएका छन् । आर्ज ( बिचमा पिल्लर नभएको ) नमुना पुल निर्माण हुनेछ । मुग्लिनबाट पोखरा जान निर्माण गरिएको जस्तै यहाँ पुल बन्न लागेको हो । अहिले वर्षात भएकाले निर्माण कार्य रोकिएको छ । वर्षात सकिएपछि काम सुरु हुने छ सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी शर्माले भन्नुभयो ।
कुल ११ मिटर चौडाइ रहने पुलको यातायात गुड्ने भाग भने ९ मिटरको रहनेछ । दोहोरो सवारी साधन चलाउन मिल्ने गरी निर्माण हुने पुलको बिचको भागमा फलामको फर्मा बनाउनु पर्ने हुन्छ । त्यसको लागि ठेक्का भइसकेको र त्यसले काम थालनी गरिसकेको कार्यालयले जानकारी दिएको छ । वर्षात सकिएपछि फर्मा ल्याएर स्ल्यापको काम हुनेछ । यो पुल निर्माण भएपछि पूर्व र पश्चिमबाट नारायणगढ हुदै पोखरा जान आएका साधन मुग्लिन नपुग्दै यही मार्गबाट दमौली निस्कन सक्नेछन् ।
१० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँमा निर्माण गर्न मृतसञ्जीवनी मकवानपुरले ठेक्काको सम्झौता गरेको हो । पुल निर्माणपछि वुद्धसिंह मार्ग भएर दमौली जान सकिन्छ । यस क्षेत्रका पहाडी बासिन्दाको लागि यो मार्ग कोशेढुङगा सावित हुनेछ ।