काठमाडौं । काठमाडौंमा गए रातिको अविरल वर्षापछि भएको डुबानले व्यापक क्षति गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नदी तटीय क्षेत्र अब खाली गराइने बताएका छन् ।
आज (बुधबार) साँझ सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै बालेनले मन्त्रिपरिषद्ले र सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटरभित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटरभित्रको जग्गालाई नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १ को निर्णयले निर्माण निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गरेका छन् । उनले काठमाडौं महानगरले त्यसको कार्यान्वयन गर्दै आएको समेत उनको भनाइ छ ।
सर्वोच्च अदालतबाट २०८० पुस ३ मा जारी परमादेशको पूर्णपाठले सरकारी मापदण्डको साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घोषणा गरेको बालेनले स्मरण गराएका छन् । उनले उक्त परमादेशलाई तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् ।
अब तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बालेनले बताएका छन् । तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नदिइने उनको भनाइ छ । नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्न उनले आग्रह गरेका छन् । बुधबार काठमाडौंका विभिन्न खोला र नदीमा बाढी आउँदा तटीय क्षेत्र डुबानमा पर्नुका साथै एक जनाको ज्यान गएको थियो ।