अस्वीकृत हुने निश्चित भएपछि प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफै फिर्ता लिए नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि प्रधानले आफै नाम फिर्ता लिएको निवेदन संसदीय सुनुवाइ समितिमा दिएका छन् ।

प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो । तर, कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैं नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनी अनुरोध गरेका हुन् । प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो । गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरिसकेको छ ।

प्रधान यौन आचरणको विवादमा परेका कारण संविधानले तोकेको ‘उच्च नैतिक चरित्र’ को मापदण्डभित्र नपर्ने धेरै सांसदहरूको धारणापछि उनले नाम फिर्ता लिएका हुन् । प्रधानले एक महिलालाई जागिर लगाई दिन्छु भनी यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए ।

शेयर गरौ

ताजा अपडेट