चितवन । भरतपुर महानगरको उत्तरबाट दक्षिण वग्ने केरुङ्गा घोललाई सौन्दर्यकरण कार्य सुरु भएको छ ।
घना वस्तीका बिच वग्ने घोललाई प्रकृति रुप दिनको लागि सरसफाइ संगै यसको दयाँवायाँको क्षेत्र विस्तार गरेर सौन्दर्य गर्ने कार्य सुरु भएको हो । भरतपुर महानगरपालिकाले यो घोललाई कञ्चन पानी बग्न दिने गरी काम सुरु गरेको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।
महानगरपालिकाको वडा नंं. ११ बाट सुरु भएर २३ नं. वडा हुदै राप्ती नदीमा गएर मिसिने यो घोल वस्ती बिच वगेको छ । वस्तो पातलो हुदा यस घोलमा कञ्चन पानी वग्ने र यहाँ बालबालिका पौडी खेल्ने गरेका थिए । अहिले वस्ती बाक्लो भएपछि यसमा फोहोर मिसाएर दुर्गन्धित पार्ने, घोलको जमिन अतिक्रमणमा परेर घर तथा टहरा निर्माण गर्ने जस्ता कार्य गरेपछि महानगरपालिकाले आफ्नो योजनामा पारेको छ ।
सुन्दरमहानगर बनाउने योजना अनुसार केरुङ्गालाई प्राथमिकतामा पारेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । हामी सडक र भवन मात्र हैन यहाको प्राकृतिक स्रोतको संरक्षण गरेर सुन्दर बनाउने कार्यलाई प्राथमिकता दिने छौ । ‘सुरुमा महानगरपालिकाले बजेट राखेर सरसफाइदेखि यसको संरक्षण कार्य गरेका थियौ’ दाहालले भन्नुभयो ‘अब यसको सौन्दर्यको लागि वृहत योजना अनुसार संघ र पालिकाको बजेटमा काम हुन्छ । ’
भरतपुर महानगरपालिकाले अहिलेसम्म नौ करोड रुपियाँ खर्च गरेर काम भइराखेको छ इन्जिनियर आचार्यले भन्नुभयो संरक्षणको कार्य भइराखेको छ । पर्खाल लगाएर सुरक्षित बनाइएको छ भने स्थान अनुसारको पार्क निर्माणको लागि जग्गामा तारबार लगाइएको छ । दायाँवायाँ कम्तीमा दुइ मिटर फुटपाथ निर्माण हुनेछ भने फराकिलो स्थानमा सुन्दर पार्क निर्माण गरिने इन्जिनियर आचार्यले भन्नुभयो ।
चालु आर्थिक वर्षमा यस घोलको सौन्दर्यकरणको लागि १३ करोड रुपियाँ बजेट विनियोजन भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडवहादुर थापाले जानकारी दिनुभयो । संघीय बजेट अनुसार यसको विकास निर्माण कार्य हुनेछ । गत आर्थिक वर्षमा थोरै बजेट एक करोड ५० लाख रुपियाँ परेको थियो प्रमुख थापाले भन्नुभयो । त्यो बजेटले प्राथमिकताको आधारमा काम गरेका थियौ । अब चालु आर्थिक वर्षमा संघको १३ करोड र महानगरपालिकाको ७ करोड गरी २० करोड रुपियाँको लगानीमा सौन्दर्यकरण कार्य हुनेछ ।
कञ्चन पानी वग्ने, ढुङगा विछ्याएर फुटपाथ निर्माण गरिने, साइकल लेन बनाउने, मानिस आएर वस्नको लागि कुर्सीको व्यवस्था गर्ने, विभिन्न जातजातिका वनस्पती फूल रोप्ने र सुन्दर पार्क निर्माण गर्ने गरी काम थालनी भएको थापाले जानकारी दिनुभयो । ४० किलोमिटर लम्वाइ भएको यस घोलको प्राकृतिक सुन्दरता कायम राख्नको लागि व्यवस्थित निर्माण कार्य भइराखेको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मिलनचोकदेखि दक्षिणको भागमा अहिले काम भइराखेको छ । यस क्षेत्रमा फराकिलो स्थान भएको ठाउमा मनोरञ्जन पार्क निर्माण गरिनेछ । अन्य स्थानमा सुन्दर फुटपाथ निर्माण हुनेछ । अहिले अतिक्रमित स्थानलाई सुरक्षा दिने, पर्खाल लगाउने, फुटपाथको लागि स्थान निर्माण लगायतको काम भइराखेको बताउनुभयो ।
यो निर्माण पूरा भएपछि नेपालकै सुन्दर नयाँ पर्यकटीय गन्तव्य हुने महानगर प्रमुख दाहालले बताउनुभयो । महानगरको उत्तर वडा नंं. ११ बाट डुङ्गा चलाएर दक्षिण राप्ती नदी किनारसम्म जान मिल्ने फूलैफूल पार्कको क्षेत्र घुम्न पाउने अवस प्रदान हुनेछ । स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण हामीले निर्माण गर्नेछौ दाहालले भन्नुभयो ।