मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

 

चितवन, । शुक्रबार राति भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार विहान मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भिर घाइते हुनु भएको थियो । भरतपुर २ घर हुनु भएको श्रेष्ठको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राति करिब साढे ९ बजेको समयमा ठक्कर दिएको थियो । मोटरसाइकल चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ । घटना शुक्रबार भएपछि घाइतेको मृत्यु भएपछि मात्र प्रहरीले दुर्घटनाको विषयमा आइतबार दिउसो जानकारी दिएको हो ।

शेयर गरौ

ताजा अपडेट