बनेपा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी जिल्ला जोड्ने विपि राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण विपि राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न खहरे खोलामा लेदो आउँदा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले वर्षाका कारण रोशी गाउँपालिका –८ को नार्के, चारसयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको बताउनुभयो ।
उहाँले अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका –७ लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताउनुभयो ।
यसैबिच वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका –८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।