ललितपुर महानगरपालिका–३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत समेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । काठमाडौं महानगरपालिका–१३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत चैत ३० गते ललितपुर जिल्ला अदालतले सहकारीका ९ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीका सञ्चालक पदाधिकारीहरू विरूद्ध तीन करोड रुपैयाँ ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा परेको छ । यो सहकारीको कार्यक्षेत्र साविक बागमती, गण्डकी, नारायणी र लुम्बिनी अञ्चलका २६ जिल्ला रहेको थियो । पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।