चितवन समाचार डटकम
करापुटार २० फागुन । मागेको कुरा पूरा हुने जनविश्वास बढेपछि आज लमजुङको इशानेश्वर महादेव मन्दिरमा हजारौ भक्तजनहरु उभिएर दियो बाली बसेका छन् ।
शिवरात्रीको अवसरमा लमजुङको करापुटार इशानेश्वर मन्दिर परिसरमा रातभर दियो बालेर बसेका हुन् । सन्तान नभएकाहरुले यहाँ आएर रातभरी दियो बालेर बसेपछि सन्तान प्राप्त गर्ने जनविश्वास रहेको यहाँ आउनेहरुले बताउने गरेका छन् । शिवरात्रीको दिनमा शिवालयहरुमा भक्तजनको भिड हुने गर्दछ । तर लमजुङकोको इशानेश्वर मन्दिरको महिमा र महत्व अन्य स्थानको भन्दा फरक रहेको मध्यनेपाल नगरपालिका वडा नं. ७ का स्थानीय वसन्तराज घिमिरेले बताउनु भयो ।
‘शिवरात्रीको दिनमा यस मन्दिरमा आएर रातभरी दियो बालेर बसेपछि जे मागेको छ त्यही पुग्छ’ उहाले भन्नु भयो ‘विशेषगरी सन्तान नभएकाहरुलाई सन्तान दिने विश्वासले यहाँ आउनेको सख्या हरेक वर्ष बृद्धि भएका छन् ।’ यही आएर पुजा गरी रातभरी बत्ती बालेपछि आफूले चाहेको सन्तान प्राप्त भएको भरतपुर महानगरपालिका वडा नं. १३ का रामहरि अधिकारीले बताउनु भयो । सन्तान प्राप्त भएपछि उसलाई यहाँ ल्याएर दर्शन गराउने चलन पनि रहेको मन्दिरका मुल पुजारी सूर्यमणि सोतीले बताउनु भयो । यस मन्दिर वरिपरी दुइ विगाह भन्दा धेरै क्षेत्रफलमा हजारौ भक्तजनहरु खुला आकाश मुनी दियो बालेर बसेका छन् ।
मन्दिर सम्वन्धी यस्तो छ किम्बदन्ती
महादेवको मन्दिर भएको स्थानमा पहिला ताल थियो । तालको पानी सुकेपछि मानिसले वसोबास गर्न थाले । यस स्थान कास्कीको रुपा ताल, फेवा ताल जस्तै थियो । मानिसको बसोबास पछि खेती गर्न जोत्दै जाँदा शिव लिंगको शिर काटियो । कटिदा रगत आयो । त्यसपछि जोत्ने हली गोरु मरे । त्यसपछि यहाँको महत्व माथि प्रचार भयो । उत्पती भएको स्थानमा मानिसले पूरा गर्न थाले । मन्दिरको नजिकै पिपलको रुखमा गणेशको मुर्ती फेला परेको थियो । शिव र गणेशको मुर्ती फेला परेपछि पार्वतीको मुर्ती निर्माण गरियो ।
धार्मिक ग्रन्थ अनुसार सतीदेवीको दाहिने तिघ्रा पतन भएको स्थानको रुपमा पनि चिनिएको छ । स्वस्थानी ब्रत कथामा यसको व्याख्या गरिएको छ । यो मन्दिरलाई तारकेश्वर, इशानेश्वर र सन्तानेश्वर महादेवको रुपमा परिचित छ । निराहार ब्रत बसेर यहाँ दियो बालेर भक्तजनहरु बस्ने गरेका छन् ।सन्तान जन्मेपछि मन्दिरमा ल्याएर ढोगाउने गर्दछन् । लाखौ भक्तजनले बत्ती बालेर वस्ने गर्दछन् । निराहार बसेर बत्ती बाल्ने गरेको । मेला लाग्ने गरेको । दुइदिन भक्तजनको भिड लाग्ने । यहाँ शिवरात्रीको दिनमा मेला लाग्ने गरेको छ । तनहुको दमौलीबाट दुइघण्टाको सवारी यात्रा पछि यहाँ पुग्न सकिन्छ ।
पछिल्लो विश्वास
मन्दिरको जनकै रहेको मिदिम खोलामा केही वर्ष अगाडि पुल निर्माण गर्ने तयारी भयो । यस क्रममा खोलाको डिलमा रहेका ढुङगा हटाउन खोज्दा हटेन । ढुङगा हटाउन खोज्ने ड्राइभरलाई सपनामा वराह शिव हो भन्ने भनेपछि त्यसलाई इशानेश्वरको मन्दिर नजिकै ल्याएर राखिएको छ ।
यो घटना यहाँका स्थानीयहरु सत्य भएको दावी गर्दछन् । त्यस शिलालाई पनि पूजा गर्ने गरिएको छ । जनविश्वास बढेपछि पूरा तत्व विभागले यस स्थानलाई अध्ययनको लागि राखेको छ । विभागले करोडौको लागतमा यहाँ निर्माण कार्य जारी राखेको छ ।