३३ अर्ब रूपैयाँ अपचलनको आरोपमा शिवशिखर सहकारीका सञ्चालक शर्मा

काठमाडौं । सहकारीबाट ऋण अपचलन गरी ११ अर्ब रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालक दम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोजन हुन लागेको यो मुद्दा अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ । विभागले मुद्दाको छानबिन प्रतिवेदनको सक्कली मिसिल जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेस गरेको छ। नयाँ ऐनअनुसार सरकारी वकिलले नै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नेछ । सहकारीको रकम अपचलन गरी त्यसको प्राप्ति र लगानी तथा कारोबारमार्फत एकीकृत गरेर सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ । यस मुद्दामा मतियारको भूमिकामा रहेको ठहर गर्दै अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएको छ ।

शर्मा दम्पतीका करिब ५० कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल रकम नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६ सय ६१ रुपैयाँ पुगेको छ । त्यस्तै शर्मादम्पतीका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँ देखिएको छ । दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६ सय ६१ रुपैयाँको एकीकरण भएको देखिन्छ । उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ ।

गैरकानुनी रुपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मा दम्पतीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार चार सय १५ रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी विभागले गरेको छ ।

त्यस्तै, गीतालाई पनि मुख्य कसुरदारकै भूमिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार दुई सय ४१ रुपैयाँ बिगो कायम गरेर त्यसको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी भएको छ । शर्मादम्पतीको नाममा दर्ता भएका कम्पनीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ ।

सम्पत्ति शुद्धीकरण गर्न धुलाई मेसिन (लाउन्ड्रोम्याट) को रूपमा कानुनी व्यक्तिको प्रयोग भएको भन्दै ती कम्पनीविरुद्ध प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म र बिगो जफत गर्न मागदाबी गरिएको छ। यसको बिगो नौ करोड ५६ लाख २६ हजार २९ हजार ६ सय ६१ रुपैयाँ छ ।

मतियारको भूमिकामा रहेको ठहर गर्दै सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ र प्रदीप भट्टराईलगायतलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध मुख्य कसुरदार ९शर्मा दम्पती० लाई कायम गरेको सजायको आधा सजाय र केदारनाथले लुकाएको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट