सुस्ताएको आर्थिक अवस्थमा चलायमान बन्दै चितवन

चितवन ४ वैशाख । आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिना यता सुधार उन्मुख अवस्था भएको पाइएको छ ।
अग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो । कोभिड अगाडिको अवस्था जस्तो भएको छैन उहाले भन्नुभयो तीन महिना यता सुधार तर्फ गएको छ ।
चितवनमा राष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना भएका छन्, मेला महोत्सव, प्रदेश स्तरीय खेलकुद, एक्सपो लगायतको कारण चितवनका होटलहरु भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रुपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले भन्नुभयो भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलहरुको बुकिङ वृद्धि भएको छ ।
कोभिडपछि थलिएको यहाँको आर्थिक क्षेत्र अहिले सुधार हुन थालेको संकेत पाएका छौ उहाले भन्नुभयो होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्दछ । मेला महोत्सव तथा एक्सपोहरु नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायको लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलहरुमा अहिले भरिन थालेको छ यसले उत्साहित बनाएको अध्यक्ष चुकेले बताउनुभयो ।
तीन महिनामा एक दर्जन ठुला कार्यक्रम भएका छन् । अन्तर प्रदेश खेलकुदमा मात्रै पाँच हजार खेलाडी एक हप्ता भन्दा धेरै भरतपुर बसेका छन् पर्यटन विज्ञ विश्वराज सुवेदीले भन्नुभयो । यहाँ आयोजना भएका एक कार्यक्रममा कम्तीमा दुइदेखि तीन हजार बाहिरका व्यक्तिहरु सहभागी भएका छन् सुवेदीले भन्नुभयो ‘ती व्यक्तिले यहाँको आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पारेको छ ।’
भरतपुरको प्रदर्शनी स्थलमा आइटी सहितको बैशाखमा दुइ वटा र जेठमा एउटा प्रदर्शनी आयोजना हुदैछ यसले पनि यहाँको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अङग्रेजी नयाँ वर्ष लागेपछि सौराहा क्षेत्रका होटलमा पर्यटकको चहलपहल राम्रो भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले बताउनुभयो । अहिले नेपाली ५० र विदेशी ५० प्रतिशत आएका छन् । विदा बाहेकका सामान्य दिनमा पनि पर्यटकको सख्यामा खासै कमी भएको छैन यो भनेको हाम्रो लागि राम्रो हो उहाले भन्नुभयो । यहाँ पर्यटकको सख्या वृद्धि संगै पर्यटक केन्द्रीत व्यवसायमा समेत यसको प्रभाव पारेको उहाले बताउनुभयो ।
सौराहामा इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आउनु भएका अमृत मिश्रले भन्नुभयो पर्यटक केन्द्रीत व्यापार नभएपनि विगतको दिनमा भन्दा अहिले व्यापार राम्रो भएको छ । चहलपहल वढेपछि सामान विक्री वृद्धि भएको छ । अन्य दिनमा भन्दा अहिले वत्ती, तार, लाइट, अन्य विद्युतीय उपकरणहरुको व्यापार वढेको पाएको छु मिश्रले भन्नुभयो स्वदेशी विदेशी पर्यटकले किन्ने गरेका छन् । सुस्ताएको आर्थिक अवस्थामा सुधारका संकेत देखिएका भन्दै जिल्लाका व्यापारी तथा व्यवसायीहरु उत्साहित भएका छन् । व्यापार फस्टाउनमा भरतपुर महानगरले घोषणा गरेको भ्रमण वर्ष र यहाँ हुने गतिविधिले पनि सहयोग मिलेको व्यवसायीको भनाइ रहेको छ ।

ताजा अपडेट