काठमाडौँ, २० फागुन ।
आज महाशिवरात्रि अथवा शिवरात्री पर्व मनाईदैछ । राजधानी काठमाण्डौको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिशेष घुईचो लाग्दछ । शिवरात्रीलाई हिन्दुहरूको प्रमुख चाड मध्य एक मानिन्छ ।
यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
पशुपतिनाथ मन्दीरमा साधुसन्तको भिड लागेको छ । उनीहरु शिवको प्रसाद भन्दै गाँजा सेवनमा मस्त देखीन्छन् ।
हैरौ तस्वीरहरु ,( रासस बाट )