चितवन, २१ पुस । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी ५, गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृतिक, भेषभुषा, भाषा(साहित्य, कला(संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ ।
यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेको महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।
महोत्सवमा १५० बटा स्टल रहने छन् । होटल स्टलहरुमा थारु जातिका साथ(साथै विभिन्न जातिका खानाका परिकारहरु रहने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।