अहिंसा शान्ति सम्मेलन चितवनमा, सामाजीक न्यायमा राज्य प्रतिवद्ध रहेको कानुन सभापति पोखरेलको भनाई

चितवन समाचारडटकम, १९ फागुन ।
संघीय संसदका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति एवम् प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलले मानवअधिकारको रक्षा गर्दै सामाजीक न्याय स्थापना गर्न कुनै कसर बाँकी नराखिएको बताउनुभएको छ ।
श्रीकृष्णप्रणामी युवा परिषद र नेपाल जैन परिषदको संयुक्त आयोजनामा आज नारायणगढमा भएको सम्मेलनको उद्घाटन गर्दै सभापति पोखरेलले हिंसा रहित समाज निर्माणमा आफ्नो ऐक्यवद्धता रहेको बताउनुभयो ।
कुनै पनि नागरिक आफ्नो मौलिक अधिकार बाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले संबिधानको प्रस्तावना सहित अरु तयार भएका कानुनहरुमा स्पष्ट ब्यबस्था गरिएको पोखरेलले उल्लेख गर्नुभयो ।
‘ब्यक्ति हत्या र बलत्कार जस्ता जघन्य अपराधमा संलग्नलाई जेलमै जिवन वित्ने ब्यवस्था गरिएको छ, कुनै पनि व्यक्ती न्यायको अभावमा पीडित बन्नुपर्नेछैन’ पोखरेलले भन्नुभयो ।
नेपालमा कुनै पनि अपराधमा मृत्युदण्डको ब्यवस्था गर्न यहाँको धार्मिक र सामाजीक मुल्यमान्यताले पनि नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘पशुलाई त बली चढाईनु हुन्न भनेर तपाईहरु अभियान चलाउदैं हुनुहुन्छ, मान्छेलाई फाँसीको सजाय दिने नेपाली समाजले कल्पना पनि गर्न सक्दैन । सबैको भावनाको सम्मान गर्दै अपराधिहरुलाई जेलमै जीवन बिताउने ब्यवस्था गरिएको हो,’ पोखरेलले भन्नुभयो ।
अहिंसा, शान्ति र साकाहारीको अभियान चलाएर हिडेका धार्मिक तथा सामाजीक संघसंस्थाहरुले समाजमा ठुलो योगदान पुर्याइरहेको उहाँले बताउनुभयो ।
‘यस सम्मेलनका आयोजक संस्थाहरुले बलीको विरोध गर्दै साकाहारी जीवनयापनलाई प्रशय दिइरहेको पाएको छु, यो सुखद बिषय हो’ पोखरेलले भन्नुभयो ।

कार्यक्रममा श्रीकृष्णप्रणामी युवा परिषद नेपालका अध्यक्ष नवराज ढकाल, जिल्ला अध्यक्ष बसन्त अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, मारवाडी परिषद का केन्द्रीय उपाध्यक्ष उमाशंकर अग्रवाल, कृष्णप्रणामी मन्दीर टीकौली महन्त कृष्णराज शास्त्री, प्राणनाथ आश्रम देवघाटका प्रमुख संरक्षक तारामाता, नेपाल जैन परिषदका फुलकुमार लालबानी , श्रीकृष्णप्रणामी युवा परिषद नेपालका उपाध्यक्ष जगदीशचन्द्र शर्मा लगायतले मन्तव्य राख्नुभयो ।

शेयर गरौ

ताजा अपडेट