चितवन समाचारडटकम, फागुन १८ ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउनुका साथै कर्जाप्रवाहमा सहजता नदेखाएको भन्दै चितवनका उद्योगी ब्यवसायी आक्रोशीत बनेका छन् ।
चेम्वर अफ कमर्स चितवनको पदस्थापन कार्यक्रममा शनिवार बोल्दै उद्योगी ब्यवसायीका संघसंस्थाका प्रतिनिधीहरुले बढेको ब्याज र झण्झटीलो प्रक्रियाले निजीक्षेत्र मारमा परेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रसंग समन्वय नगरी बैंकहरुले एकलौटी ढंगले ब्याज बढाएको बताउनुभयो ।
‘ब्याजदर त बढेको छ, गरेको लगानी पनि अनुत्पादक क्षेत्रमा देखीयो’ अध्यक्ष प्रधानले भन्नुभयो, ‘अष्ट्रेलिया जान्छु भन्नेलाई गाडी किन्छु भन्नेलाई सहजै ऋण दिएका छन् उद्यम ब्यबसाय गर्नेले सहजताका साथ ऋण पाउदैन ।’
बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाएकै कारण आयात प्रतिशत झनै बढेको प्रधानको जिकीर थियो । ब्याजदर नघटाए उद्योगी ब्यवसायी धरासयीको अवस्थामा पुग्ने उँहाले बताउनुभयो । ‘यसवारे अध्ययन गर्न सरकारद्धारा गठीत कार्यदलले छिटो काम गरोस् ’– प्रधानले भन्नुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । बैंकले ब्याज बढाउदाँ यो राष्ट्रिय र साझा अभियानमा बाधा उत्पन्न हुने दुवाडीको भनाई छ ।
चितवनलाई आर्थिक राजधानी बनाउन सबैपक्ष लागी परेको बताउदैं उहाँले उद्यमशीलता बढाउन बैंक तथा बित्तीयसंस्थाहरु गम्भिर बन्नुपरेको उल्लेख गर्नुभयो ।
चेम्वर अफ कमर्स चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठले बैंकहरुले आफुखसी ब्याजदर बढाउदा नयाँ परियोजनको सञ्चालन र उद्योग खोल्न कठीनाई भएको बताउनुभयो ।
चितवनमा रहेका कमर्शियल बैंकहरुले अधिकतम १५ प्रतिशत र बिकास बैंकहरुले १७ प्रतिशत सम्म कर्जामा ब्याज लिने गरेको पाइएको ब्यवसायीहरुको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि चेम्वर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले चितवन कृषी र पोल्ट्रीको हव भएकाले यसतर्फ लाग्न जिल्लाका उद्योगी ब्यवसायीलाई आग्रह गर्नुभयो । ब्याजदर घटाउन हामी केन्द्रीय स्तरमा पनि लागि परेका छौं, यो साझा समस्या बनेको छ, उहाँले भन्नुभयो ।
पदस्थापन कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, मिलनवावु श्रेष्ठ, नेकपा चितवनका नेता तेजेन्द्रवहादुर खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला समन्वय समितका सभापति कृष्ण डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, युवा व्यवसायी राजु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य गीता वाग्ले र रिना गुरुङ पनि सहभागी हुनुहन्थ्यो ।
चेम्वर अफ कमर्स चितवनकाे भरतपुर ३ वाह्रघरे स्थित कार्यालयको आजै उद्घाटन गरिएको उपाध्यक्ष गोपाल भट्टराईले जानकारी दिनुभयो ।