यातायात मजदुरका नेताले भने, ‘श्रम ऐनको कार्यान्वयन खोई ?’

चितवन समाचार डटकम, १८ फागुन ।
यातायात मजदुरका नेताहरुले श्रम ऐन कार्यान्वय हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । यातायात क्षेत्रका मजदुरहरुको हकहितलागी सरकार गम्भिर नभएको उनीहरुको आरोप छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भरतपुर महानगरकमिटीको आज भरतपुरमा भएको प्रथम अधिवेशनमा सहभागी नेताहरु श्रम ऐन अनुसार सेवा सुविधा उपलब्ध हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरलाई श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार तलव सुबिधा मिल्न नसकेको जिकिर गर्नुभयो । ऐन अनुसार मजदुरको तलवमान १३ हजार चार सय ५० रुपैयाँ हुनुपर्ने हो, तर न्युन सुविधा लिएर काम गर्नुपर्ने अवस्था छ, राईले भन्नभयो, सामाजिक सुरक्षा कार्यक्रम पनि मजदुरलाई कार्यान्वयन हुन सकेको छैन ।
मजदुरको सेवासुबिधामा सरकार गम्भिर बन्नुपर्ने धारण राख्दै राईले दुर्घटना न्युनिकरणको अभियानमा आफुहरु हातेमालो गरिरहेको बताउनुभयो ।
सवारी दुर्घटना न्युनीकरण गर्न यातायात मजदुर गम्भिर छन्, माहामारीका रुपमा फैलिएको सडक दुर्घटना न्युनीकरण गर्न देशव्यापी अभियान चलाएका छौंं– राईले भन्नुभयो ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले मुलुकमा आएको राजनीतिक परिवर्तनको स्वाद यातायात मजदुरले नपाएको बताउनुभयो ।
‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो, तर यातायात मजदुरले आफ्नो सेवा सुविधाका लागी अझै लडाई गर्नुपर्ने बिडम्बना छ, श्रेष्ठले भन्नुभयो, न्युनतम तलव, संचयकोष, बिमा कुनै सुविधा छैन ।’
त्यसैगरी संगठनका महासचिव नवराज घिमिरेले सवारी दुर्घटनामा मजदुरलाई दोष थोपार्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो । दुर्घटना पछि यातायात मजदुरलाई कार्वाही गर्ने बिद्यमान कानुनी प्रवन्धको संसोधन गर्नुपर्ने बताउनुभयो ।
ईकाई अध्यक्ष जीतवहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा चितवनका नेता तेजेन्द्रवहादुर खड्का, जिफन्टकी नेतृ गोमा तिमिल्सीना, यातायात ब्यवसायी राष्टिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, वडा नम्वर २ का अध्यक्ष पूर्णवहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभयो । सचिव दिपक सिलवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट