तीर्थ नेपाल/चितवन, २३ भदौ ।
अव्यवस्थित काराेबारका कारण केही सहकारी संस्थाहरुप्रति जनविश्वास गुमिरहेकाे बर्तमान अवस्थामा भरतपुरमा सञ्चालित भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाले उल्लेख्य आम्दानी गर्न सफल पाईएकाे छ ।
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा ११ कराेड ४१ लाख ११ हजार ५७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
भरतपुर-१२ मा मुख्य कार्यालय रहि अन्य तीनवटा सेवाकेन्द्र मार्फत काराेबार गरिरहेकाे भरतपुर जनसेवा सहकारीकाे आज भएको २७ ओैं बार्षिक साधारणसभामा यस बारे जानकारी गराईएकाे हाे ।
सञ्चालक समितिका अध्यक्ष कुलवहादुर खत्रीकाे अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाकाे कुल दायित्व र सम्पत्ति ६७ कराेड ५७ लाख ७५ हजार रहेको छ ।
यस सहकारीले ५१ कराेड ३० लाख बचत रकम मध्ये ४६ कराेड ८९ लाख ऋण लगानी रहेको जनाएको छ ।
४ कराेड २१ लाख रुपैयाँ जगेडा काेषमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
तरलता ब्यवस्थापन पनि सहकारीले राम्रो गरेको पाईएकाे छ । प्रतिवेदन अनुसार बचतका आधारमा १६.५२ प्रतिशत तरलता रहेको छ ।
सहकारी मापदण्ड २०७७ काे दफा २५(१) बमोजिम कुल निक्षेपको १५ प्रतिशत तरलता ब्यवस्थापन अनिवार्य छ ।
मुद्दतिलाई समेत समाबेश गर्दा तरलता ब्यवस्थापन ३२.३५ प्रतिशत रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा सहकारीका पदाधिकारीहरुले संस्था अत्यन्त ब्यवस्थित ढंगले सञ्चालन भैरहेकोले ढुक्क संग बचत र काराेवार गर्न सदस्यहरुसंग आग्रह गरेका थिए ।
पूर्व अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारीका प्रतिनिधि मिनप्रसाद सुवेदी र चेतन सेढाई, पूर्व अध्यक्ष ऋषिराम पाैडेलले भरतपुर जनसेवा सहकारी उत्कृष्ट सहकारीका रुपमा स्थापित हुन पुगेको बताउनुभयो । “कतिपय सहकारी डुबेका छन् जस्का कारणले राम्रा सहकारीलाई पनि शंका गर्ने गरेको पाईएकाे छ, तर भरतपुर जनसेवा प्रति कुनै शंका आवश्यक छैन ” सेढाईले भन्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारी, वडा नम्बर -१२ का अध्यक्ष लेखराज पन्त , जिल्ला बचत तथा ऋण संघ चितवनका सचिव सुदिप रेग्मी लगायत अतिथि रहनुभएकाे थियाे ।
साधारणसभाले रिक्त रहेकाे उपाध्यक्ष पदमा शेषमणि नेपाल,लेखा सुपरिवेक्षण समिति संयाेजकमा भरतप्रसाद काफ्ले ,सदस्यमा महेन्द्र न्याैपाने र शेखरनाथ घिमिरेलाई चयन पनि गरेको छ ।
भरतपुर महानगर पालिका भर कार्यक्षेत्र रहेको यस सहकारीमा ४ हजार ६ सय २८ जना सदस्य रहेका छन् ।
साधारणसभामा जेष्ठ नागरिक, मेधावी विधार्थी, उत्कृष्ट काराेबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियाे ।