चितवन, ७ भदौ । नारायणी नदीमा निर्माण हुन लागेको नयाँ र वैकल्पिक पुल निर्माणको विषयमा विज्ञको टोलीले स्थलगत निरिक्षण गरेको छ ।
चितवन र नवलपुर जिल्ला जोड्ने नारायणी नदीमा ठेक्का लागेको (सिग्नेचर) नयाँ पुल को विषयमा पुल महाशाखाको टोलीले स्थलगत निरिक्षण गरेको हो । निरिक्षणपछि पुल महाशाखा प्रमु्ख नरेशमान शाक्यले नयाँ निर्माण हुने पुलको स्थान छनौट गरिएको छ, अब डिजाइन पेश गरेपछि उपयुक्त भएमा निर्माणको काम अगाडि बढ्छ ।
बाहिर चर्चामा आएजस्तो सिग्नेचर पुल निर्माण हुने छैन उहाले भन्नुभयो ‘नदीमा फेरी स्टिमर सञ्चालन गर्न मिल्ने गरी एउटाबाट अर्को पिल्लरको दुरी लामो हुने गरी नयाँ डिजाइनको पुल बन्दछ । अहिले भइराखेको पुलबाट उत्तरतर्फ निर्माण हुनेछ । नेपालमा अहिले भइराखेको भन्दा फरक शैलीको निर्माण हुने भएकाले त्यसै अनुरुप डिजाइन पेश गर्न ठेक्का पाएको तँुदी कन्स्ट्रकसनलाई निर्देशन दिएको प्रमुख शाक्याले जानकारी दिनुभयो ।
महाशाखाको टोलीले महेन्द्र राजमार्गको पुरानो बाटोबाट चितवन तर्फ आउने देवघाट नजिकको स्थानमा पनि निरिक्षण गरेको छ । महाशाखा प्रमुख शाक्यले भन्नुभयो राजमार्गमा वैकल्पिक पुल निर्माण गर्नु पर्दछ, यो आउदो समयको लागि अहिले नै स्थान निरिक्षण गरिएको हो । छोटो दुरीमा निर्माण गर्न मिल्ने बैकल्पिक पुलको स्थान अवलोकन गरिएको छ शाक्यले भन्नुभयो ती स्थानलाई संरक्षण गरेर राख्ने र आउदा दिनमा योजना निर्माण हुनेछ ।
टोलीले हुलाकी सडकको अवलोकन गरेको छ । हुलाकी मार्ग अन्तर्गत भरतपुरदेखि मेघौलीसम्मको सडक निरिक्षण गरेको छ । मेघौलीबाट नवलपुर जोड्ने स्थानमा पुल निर्माण गर्न सकिने सम्भाव्य अध्ययन गरेको छ । महाशाखा प्रमुख शाक्यले भन्नुभयो नारायणी नदीमा पुल निर्माण गर्न सकिने स्थानहरुको अवलोकन गरेका छौ । विहीबार आएको टोलीसंग भरतपुर महानगरका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोली निरिक्षणमा हिडेको थियो ।
नारायणी नदीमा बन्ने सिग्नेचर पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ । सिग्नेचर ब्रिज निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले डिजाईनको काम भईरहेको कम्पनीले जनाएको छ । चार सय २० मिटर लामो उक्त पुल निर्माण गर्न एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणको लागि भरतपुर महानगरपालिकाले पहल गरिरहेको र अबको केही समयपछि यो कामले पूर्णता पाउने बताउनुभयो । सिग्नेचर ब्रिज, राष्ट्रिय राजर्माग जोड्ने ३ वटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने बताउनुभयो ।
यस्तै भरतपुर र माडी ठोरी जोड्ने गरी निर्माण गर्ने गरी तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुर्बको निरीक्षण एवम् अनुगमन गरेको छ । ध्रुर्ब र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको छ । पुल महाशाखाका अनुसार ३ वटा नयाँ पुल निर्माण गर्न एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जानकारी दिएको छ ।