काठमाडौँ, २८ साउन । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिनुभयो।
उहाँले मादी नदीमा निर्माण गरिने पुलको डिजाइनमा केही त्रुटि देखिएको र त्यसलाई सच्याउन परामर्शदाता कम्पनीलाई डिजाइन फिर्ता गरिएको बताउनुभयो। डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माण भइरहेको सेती पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले र मादी पुलको अन्नक निर्माण कम्पनीले पाएका छन्।
सेतीको पुल एक अर्ब रुपियाँ र मादीको एक अर्ब २० करोड रुपियाँको लगानीमा निर्माण हुने छ। विस्तार सुरु भएको दुई वर्ष बिते पनि मुग्लिङ–पोखरा सडकखण्ड विस्तार आयोजनाको काम सुस्त देखिएको छ। विभागका महानिर्देशक ढकालले आयोजनाको अहिलेसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको जानकारी दिनुभयो। लम्बाइ ८१ किलोमिटर रहेको सो सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो। अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ।
पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड ९मुग्लिन–जामुने० को लम्बाइ ४१।४५ किलोमिटर र पश्चिम खण्ड ९जामुन–पोखरा० को लम्बाइ ३९।५५ किलोमिटर छ। पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ। पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो। पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ। यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो।
पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ। एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ।
उहाँले यो सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५र२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने जानकारी दिनुभयो। विस्तारपछि तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर तथा दुलेगौँडा, खैरेनीटार बजार, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुने सडक विभागले जनाएको छ।
गोरखापत्र दैनिकबाट