भरतपुर महानगर र चीनको सिगात्से सिटीबीच सहमती

 

चितवन, १९ साउन । भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटी बीच आपसी हितको विषयमा सहयोग आदान प्रदान गर्ने सहमती भएको छ ।
सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहर बीच एक आपसमा सहयोग आदन–प्रदान गर्ने सहमती भएको हो । कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो । महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउनु भयो ।
सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गर्नुभयो । भेटघाटमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा मनाउन लागेकाले आउन निमन्त्रणा दिनुभयो ।
सिगात्से सिटीका प्रमुख वाड्गले भरतपुर महानगरमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रमुख वाड्गले नेपाल र तिब्वत क्षेत्रसँग सडक र रेल सञ्जाल जोडेर अगाडि जान तयार भएकाले सरकारलाई ध्यानाकर्ष गराउन अनुरोध गर्नुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्से बीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षिय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउदै लैजानु पर्ने बताउनुभयो । महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यी प्रतिनिधि मण्डलले सिगात्से पुगेको छ ।

 

शेयर गरौ

ताजा अपडेट