काठमाडौं १४ साउन । सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत जुटाउन राप्रपालाई रिझाउने, सभामुखलाई राजीनामा गराउनेसहितका विकल्पमा छलफल थालेको छ । कांग्रेस र माओवादी शीर्ष नेताबीच शनिबार बिहान बालुवाटारमा छलफल भएपछि साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग वार्ता भएको छ ।
सर्वोच्च अदालतको आदेशबाट बिहीबार मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । असार १७ मा सभामुखको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चले सरकार गठन प्रक्रियामा सभामुखको भूमिका ‘रेफ्री’ जस्तो हुने फैसला सुनाएपछि सत्ता गठबन्धनलाई बहुमत पुर्याउन कठिन परेको छ । कोशीका सभामुख माओवादीबाट निर्वाचित हुन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शनिबार कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल भएको र बहुमत जुटाउन अन्य दलसँग पनि छलफल थालिने जानकारी दिए । ‘बालुवाटार बैठकमा नेताहरूबीच विभिन्न विकल्पबारे छलफल भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘राप्रपासँग पनि संवाद गरेर राजनीतिक जटिलता अन्त्य गर्ने निर्णय भएको छ ।’
बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । शीर्ष नेताहरूबीच राप्रपालाई मनाउन पहल गर्ने सहमति भएपछि शनिबार साँझ बालुवाटारमै राप्रपा अध्यक्ष लिङ्देनसँग संवाद भएको थियो । राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेस र माओवादी नेताहरूसँग अनौपचारिक छलफल भए पनि उल्लेख्य प्रगति नभएको बताए ।
‘उहाँहरूसँग छलफल भइरहेकै छ तर प्रगति भएको छैन,’ उनले भने, ‘अहिलेको अवस्थामा हामी सत्ता गठबन्धनलाई समर्थन गर्ने वा सरकारमा जाने पोजिसनमा छैनौं ।’ कान्तिपुर दैनिकबाट