गुजरात, ३ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ ।
भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो ।
भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उहाँले बताउनु भयो ।
नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गर्नुभयो ।
नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न अनुरोध गर्नु भएको छ ।
नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने , भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धि क्षमता समेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा बताउनु भएको छ ।
गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालय र दिल्ली स्थित नेपाली दुताबासका अधिकारीहरूले लगानी सम्भावनाका विषयमा प्रस्तुति दिनु भएको थियो । गोरखापत्र दैनिकबाट